Gorkha Sansar

पाँच करोडको प्राङ्गारिक मल उद्योग पाँच वर्षदेखि अलपत्र, दिक्तेल नगरपालिकामाथि चर्कियो आलोचना

खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा करिब पाँच करोड रुपैयाँको लागतमा निर्माण गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग उद्घाटन भएको पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन । २०७७ चैतमा तामझामका साथ उद्घाटन गरिएको उद्योग अहिले प्रयोगविहीन बन्दै गएको छ भने नगरपालिकामाथि राज्यको लगानी दुरुपयोग गरेको आरोप चुलिएको छ ।

नगरपालिका-२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको उद्योगमा नेपाल सरकारको विशेष अनुदान र नगरपालिकाको बजेट गरी ठूलो लगानी गरिएको थियो । उद्योगमार्फत दिक्तेल बजारबाट सङ्कलित फोहर प्रशोधन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने, बायोग्यासलाई सिएनजीमार्फत एलपी ग्यासजस्तै सिलिण्डरमा भरेर वितरण गर्ने तथा नगरपालिकालाई अर्गानिक नगर बनाउने लक्ष्य राखिएको थियो ।

प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्ने क्षमता रहेको उद्योग अहिले पूर्ण रूपमा बन्द अवस्थामा छ । उद्योग परिसरमा निर्माण गरिएका पोखरी, हाइटेक ग्रिन हाउस तथा भैँसी पालनका संरचनासमेत अलपत्र परेका छन् । उद्योग सञ्चालनका लागि खरिद गरिएका उपकरणमध्ये केही प्रयोगविहीन बनेका छन् भने केही सामग्री काम नलाग्ने अवस्थामा पुगेको स्थानीयको गुनासो छ ।

स्थानीय गङ्गाबहादुर विश्वकर्माले उद्योग सञ्चालनको आशामा आफूले निःशुल्क जग्गा उपलब्ध गराएको बताउँदै हालसम्म सञ्चालन नहुनु दुःखद भएको प्रतिक्रिया दिए । उद्योगका लागि नियुक्त गरिएका कर्मचारी, खरिद गरिएका भैँसी तथा अन्य संरचनामा खर्च भएको रकमको स्पष्ट विवरणसमेत नगरपालिकासँग नरहेको आरोप उठेको छ ।

वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईले अघिल्लो नेतृत्वले दीर्घकालीन योजना बिना संरचना निर्माण गरेको दाबी गरेका छन् भने तत्कालीन नगरप्रमुख दीपनारायण रिजालले नगरलाई पूर्ण अर्गानिक बनाउने उद्देश्यले उद्योग स्थापना गरिएको बताएका छन् ।

उद्योग सञ्चालनमा आउन नसक्दा स्थानीयवासीले सामाजिक सञ्जालमार्फत नगरपालिकाको आलोचना गर्दै राज्यको करोडौं लगानी डुब्ने जोखिम बढेको बताएका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.