विजयपुर / धरान उपमहानगरपालिका ले दर्ता बिना सञ्चालन भएका तथा गुणस्तर परीक्षणमा असफल उद्योगमाथि कारबाही गर्दै चार उद्योगको उत्पादन तथा बिक्री वितरणमा रोक लगाएको छ । साथै एक होटललाई किचेन सुधार गर्न निर्देशन दिइएको छ ।
बिहीबार खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त अनुगमन टोलीले धरान क्षेत्रमा सञ्चालन भइरहेका उद्योग तथा व्यवसायहरूको निरीक्षण गरेको थियो । अनुगमनका क्रममा मापदण्ड विपरीत सञ्चालन भएका उद्योग तथा व्यवसायमाथि तत्काल कारबाही गरिएको जनाइएको छ ।
कारबाहीमा पर्ने उद्योगमध्ये धरानस्थित एमएस खाद्य उद्योग, धरान–१५ मा रहेको धरान एक्वा पानी उद्योग तथा धरान औद्योगिक क्षेत्रभित्र सञ्चालित धरान डेरी फुड प्रोडक्ट्स प्रालि रहेका छन् । यी उद्योगले उत्पादन गरेका खाद्य तथा दुग्धजन्य वस्तुको उत्पादन र बिक्री वितरणमा रोक लगाइएको हो ।
त्यस्तै, सिताज मार्टमा लेबलविहीन खाद्य सामग्री बिक्री गरिएको भेटिएपछि ती सामग्रीको बिक्री वितरण पनि रोकिएको छ ।अनुगमन टोलीले धरान–१५ स्थित मेरिकेन होटलको किचेनमा सरसफाइ तथा व्यवस्थापनमा कमजोरी भेटिएपछि सुधार गर्न निर्देशन दिएको जनाएको छ ।
उपमहानगरपालिकाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएका खाद्य उद्योग तथा व्यवसायलाई कानुनी प्रक्रिया र गुणस्तर मापदण्डअनुसार सञ्चालन गर्न चेतावनी समेत दिएको छ ।