पोखरा । नेपाल फोटो फेस्टिभल २०२६ सम्बन्धी जानकारी तथा सहभागिताका विषयमा केन्द्रित कम्युनिटी मिटअप आयोजना हुने भएको छ । फोटोग्राफी, वर्डप्रेस तथा नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्यप्रति रुचि राख्नेहरूलाई लक्षित गर्दै कार्यक्रम आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार मिटअपमा नेपाल फोटो फेस्टिभल २०२६ को उद्देश्य, कार्यक्रमको स्वरूप तथा सहभागी हुने प्रक्रियाबारे जानकारी प्रदान गरिनेछ । साथै फोटो प्रतियोगितामा कसरी सहभागी हुने, फोटोहरूलाई WordPress Photo Directory मा कसरी अपलोड गर्ने तथा गुणस्तरीय तस्बिर खिच्ने तरिकाबारे समेत जानकारी दिइने जनाइएको छ ।
कार्यक्रममा खुला छलफल, प्रश्नोत्तर तथा फोटोग्राफर र समुदायका सदस्यबीच अनुभव आदानप्रदानको अवसर समेत रहने आयोजकले जनाएको छ ।
उक्त मिटअप यही जेठ ९ गते शनिबार बिहान १० बजे Chautari Boutique Hotel, लेकसाइड पोखरामा आयोजना हुनेछ । कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले Meetup RSVP Page मार्फत नाम दर्ता गर्न सक्नेछन् ।
आयोजकले यो निःशुल्क मिटअप भएकाले सबैलाई सहभागिताका लागि आग्रह गरेको छ । “मोबाइल ल्याउनुहोस्, क्यामेरा ल्याउनुहोस्, जिज्ञासा ल्याउनुहोस्” भन्ने सन्देशसहित आयोजना हुन लागेको कार्यक्रममा फोटो तथा डिजिटल समुदायबीच नयाँ नेटवर्क विस्तार हुने अपेक्षा गरिएको छ ।