पालुङटार भजन महोत्सव–२०८३” ले जगायो संस्कृति, भक्ति र पहिचानको चेतना
गोरखा, पालुङटार ।
भक्ति, संस्कृति र नेपाली मौलिकताको अद्भुत संगम बनेको “पालुङटार भजन महोत्सव–२०८३” भव्य रूपमा सम्पन्न भएको छ । पालुङटार नगरपालिका को आयोजनामा तथा ओंकार योग आयुर्वेद गुरुकुल को संयोजनमा सम्पन्न महोत्सवले पालुङटारलाई एक दिन आध्यात्मिक संगीतको केन्द्रमा रूपान्तरण गरिदिएको थियो ।
पालुङटारस्थित गुरुकुल परिसरमा आयोजित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिले दर्शकलाई भक्ति भावमा डुबाएको थियो । कार्यक्रममा चर्चित लोक तथा भजन गायक नारायण खनाल लेकाली, नवीन पौडेल, प्रेमराज अधिकारी, बसन्त बास्तोला, लक्ष्मी पौडेल, रोशा फुयाँल लगायतका कलाकारहरूको प्रस्तुति विशेष आकर्षण बनेको थियो ।
त्यसैगरी दोहोरी गायिका सीमा थापा तथा नृत्याङ्गना अमिशा राई को प्रस्तुति दर्शकले निकै रुचाएका थिए । कार्यक्रममा राधाकृष्ण भजन, रामभक्ति गीत, सांस्कृतिक झाँकी तथा परम्परागत नृत्यहरू प्रस्तुत गरिएका थिए ।
कार्यक्रममा पालुङटार नगरपालिका सहित विभिन्न क्षेत्रबाट आएका १२ वटा भजन समूहहरूको सहभागिता रहेको थियो । आयोजकका अनुसार महोत्सवले लोपोन्मुख भजन चुड्का परम्परा तथा सनातन संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि विवस चिन्तन ले भजन र सांस्कृतिक सम्पदाको संरक्षणका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउँदै बालन नाच संरक्षणका लागि बजेट विनियोजन गर्ने घोषणा गर्नुभयो । कार्यक्रममा नगर उपप्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी, शिक्षा शाखाका वरिष्ठ अधिकृत माधव पोखरेल लगायतको उपस्थिति रहेको थियो ।
वडा नं. ७ का अध्यक्ष अर्जुनबहादुर कुमाल को अध्यक्षतामा सम्पन्न कार्यक्रमको औपचारिक सञ्चालन स्रोत शिक्षक सन्तोष पाण्डे ले गर्नुभएको थियो ।
गोविन्द रेग्मी ले भजन महोत्सवले केवल सांगीतिक मनोरञ्जन मात्र नभई नयाँ पुस्तामा धर्म, संस्कृति र मौलिक परम्पराप्रति आकर्षण बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार यस्ता कार्यक्रमले योग, आयुर्वेद र सांस्कृतिक चेतनालाई एकै ठाउँमा जोड्ने काम गरेका छन् ।
भजनको स्वरमा गुञ्जियो पालुङटार