Gorkha Sansar

“स्वाद”सँगै अब “विश्वास”को पनि परीक्षा : पृथ्वी राजमार्गका होटलमा आकस्मिक अनुगमन

तनहुँ, ५ वैशाख । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका वडा नं. १ बरादी र वडा नं. २ एक्लेफाँट क्षेत्रमा सञ्चालित होटल, रेष्टुरेन्ट तथा खाद्य पसलहरूमा गरिएको आकस्मिक अनुगमनले राजमार्गका खानापान व्यवसायको वास्तविक अवस्था उजागर गरेको छ। यात्रुको चाप बढ्दै जाँदा अब होटल व्यवसाय केवल खाना बेच्ने माध्यम नभई स्वास्थ्य र विश्वाससँग जोडिएको विषय बनेको संकेत देखिएको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली, आँबुखैरेनी गाउँपालिका, उद्योग वाणिज्य संघ सत्रसया बरादी इकाई तथा इलाका प्रहरी कार्यालय आँबुखैरेनीको संयुक्त टोलीले १३ वटा व्यवसायमा निरीक्षण गरेको थियो।
अनुगमनका क्रममा करिब १९ हजार ५ सय रुपैयाँ बराबरका म्याद नाघेका खाद्य सामग्री तथा अखाद्य कालो अमिलो झोल नष्ट गरिएको जनाइएको छ। टोलीका अनुसार केही होटलमा सरसफाइको अवस्था कमजोर देखिएको थियो भने खाद्य सामग्री राख्ने तथा प्रयोग गर्ने तरिकामा पनि लापरवाही भेटिएको थियो।
खाद्य अनुसन्धान अधिकृत ज्योति आचार्य ले होटल तथा खाद्य व्यवसायीलाई सरसफाइ सुधार गर्न सात दिनको समय दिइएको जानकारी दिनुभयो। निर्धारित समयभित्र सुधार नगरे प्रचलित ऐनअनुसार कारवाही गरिने उहाँले चेतावनी दिनुभयो।
गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष के.सी. ले अहिले यात्रुहरू स्वादभन्दा बढी स्वच्छताप्रति सचेत बन्दै गएको बताउँदै व्यवसायीलाई ग्राहकमैत्री व्यवहार गर्न, गुनासो सम्बोधनमा सक्रिय हुन तथा होटलमा अनिवार्य रूपमा गुनासो पेटिका राख्न निर्देशन दिइएको जानकारी दिनुभयो।
उहाँका अनुसार उपप्रमुख दुर्गा अर्याल को निर्देशनमा अब चाँडै खाद्य स्वच्छताका आधारमा होटल स्तरीकरण कार्यक्रम सञ्चालन गरिनेछ। यसले यात्रुलाई सुरक्षित र गुणस्तरीय होटल छनोट गर्न सहज हुने अपेक्षा गरिएको छ।
उद्योग वाणिज्य संघका सभापति शारदा पण्डित ले यस्ता अनुगमनले व्यवसायीलाई थप जिम्मेवार र सचेत बनाउने विश्वास व्यक्त गर्नुभयो। संघका सचिव राजेन्द्र अधिकारी ले कारवाहीभन्दा अघि सुधारको अवसर दिनु आवश्यक रहेको धारणा राख्नुभयो।
दैनिक हजारौँ यात्रु ओहोरदोहोर गर्ने पृथ्वी राजमार्ग क्षेत्रमा अब होटलहरूको मूल्यांकन केवल स्वादका आधारमा होइन, स्वच्छता र विश्वसनीयताका आधारमा पनि हुन थालेको स्थानीयवासी बताउँछन्।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.