Gorkha Sansar

टिकटकमा भाइरल भएपछि च्याङलीको ‘भाइरल चौउर’मा मानिसको ओइरो, गोरखाको नयाँ सेल्फी स्पट बन्यो आकर्षण

गोरखा । केही समयअघिसम्म सामान्य खुला मैदानका रूपमा चिनिएको भाइरल चौउर अहिले आन्तरिक पर्यटकहरूको नयाँ ‘हटस्पट’ बनेको छ । पछिल्ला केही दिनयता विशेषगरी हिजोआज यहाँ मानिसहरूको घुइँचो लाग्न थालेपछि च्याङली क्षेत्र नै चर्चामा आएको स्थानीयहरू बताउँछन् ।

पालुङटार नगरपालिका–७ अन्तर्गत बगर क्षेत्र नजिकै रहेको उक्त चौउर सामाजिक सञ्जाल टिकटक, फेसबुक र युट्युबमा भिडियो भाइरल भएपछि एकाएक पर्यटकको रोजाइमा परेको हो । हरियाली वातावरण, फराकिलो खुला मैदान, शान्त परिवेश र वरिपरिको मनोरम दृश्यले युवायुवतीदेखि परिवारसम्मलाई आकर्षित गरिरहेको छ ।

विशेषगरी बिदाको दिन र साँझपख चौउरमा घुम्न आउनेहरूको भीड बढ्न थालेको छ । कतिपय फोटो तथा भिडियो बनाउन पुग्ने गरेका छन् भने धेरैजसो परिवार र साथीभाइसँग छोटो दूरीको घुमफिरका लागि यहाँ आउने गरेका छन् । स्थानीयका अनुसार हिजोआज दैनिकजसो दर्जनौं मोटरसाइकल र गाडीमा मानिसहरू पुग्न थालेका छन् ।

“पहिला स्थानीयबाहेक खासै कोही आउँदैनथे, अहिले त टिकटकमै भाइरल भएपछि बाहिरी जिल्लाबाट समेत मानिस आउन थाले,” स्थानीय युवाहरू बताउँछन् । उनीहरूका अनुसार चौउर अहिले गोरखाकै चर्चित ‘सेल्फी स्पट’ बन्दै गएको छ ।

प्राकृतिक सौन्दर्यसँगै ग्रामीण जीवनको अनुभव लिन चाहनेका लागि ‘भाइरल चौउर’ उपयुक्त गन्तव्य बनेको स्थानीयको भनाइ छ । खुला हरियाली मैदानमा बसेर रमाइलो गर्न, फोटो खिच्न र शान्त वातावरणको अनुभव लिन पाइने भएकाले युवा पुस्ता विशेष आकर्षित भएको देखिन्छ ।

स्थानीय युवाहरूले उचित प्रचारप्रसार, सडक स्तरोन्नति, विश्रामस्थल, खानेपानी तथा सरसफाइ व्यवस्थापन गर्न सके ‘भाइरल चौउर’ गोरखाको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालको प्रभावले ओझेलमा रहेका ग्रामीण क्षेत्र पर्यटनको केन्द्र बन्न सक्ने उदाहरणका रूपमा अहिले च्याङलीको ‘भाइरल चौउर’ लाई लिन थालिएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.