काठमाडौँ / संघीय संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै बाहिरिएको घटनाले राष्ट्रिय राजनीति तातेका बेला देशको मौसम पनि अस्थिर बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका समयमा देखिएको संसदीय विवादमाथि बहस चलिरहेकै बेला मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना रहेको जनाएको हो ।
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय रहेको महाशाखाको भनाइ छ । यसको प्रभावले अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिमका केही भूभागमा हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ ।तराईका जिल्लामा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
कोशी र मधेस प्रदेशका थोरै स्थानमा तीव्र हावाहुरी चल्न सक्ने भएकाले किसान, यात्रु तथा सर्वसाधारणलाई सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । उता सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा तापक्रम बढ्ने सम्भावना देखिएको छ ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।
रातिको समयमा पनि कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकीका एक-दुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।राजनीतिक बहस र बदलिँदो मौसमबीच देश अहिले दुई प्रकारका चुनौतीको सामना गरिरहेको देखिन्छ ।