उजुरी पर्यो भन्दैमा दोषी होइन’ : म्याग्देमा भ्रष्टाचार नियन्त्रणबारे अख्तियारको सचेतना
तनहुँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालय को आयोजनामा म्याग्दे गाउँपालिका मा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका भित्रका सरकारी तथा गैरसरकारी निकायलाई भ्रष्टाचार निवारणसम्बन्धी जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ ले म्याग्दे गाउँपालिकामा भ्रष्टाचार र अनियमिततालाई शून्यमा झार्ने लक्ष्यसहित काम भइरहेको बताए । उनले खर्च कटौती, बेरुजु न्यूनीकरण तथा सुशासन प्रवर्द्धनलाई गाउँपालिकाले प्राथमिकतामा राख्दै आएको उल्लेख गरे ।
कार्यक्रमका प्रमुख वक्ता तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग पोखरा कार्यालयका प्रमुख नारायण प्रसाद रेग्मी ले “उजुरी पर्यो भन्दैमा व्यक्ति दोषी भइहाल्दैन” भन्दै निष्पक्ष अनुसन्धान प्रणालीबारे स्पष्ट पारे । उनले असन्तुष्टि वा शंका उत्पन्न हुँदा नागरिकले उजुरी गर्ने भएकाले उजुरीलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्ने बताए ।
“आफूले सत्कर्म गर्ने हो, निर्दोष भए सफाइ पाइन्छ, दोषी भए कानुनअनुसार सजाय हुन्छ,” रेग्मीले भने, “सरकारी सवारीसाधन सरकारी कामबाहेक अन्य प्रयोजनमा प्रयोग गरिए त्यो पनि भ्रष्टाचारअन्तर्गत पर्न सक्छ ।”
कार्यक्रममा आयोगका अधिकृत उदय पराजुली ले भ्रष्टाचार तथा अनियमितताविरुद्ध उजुरी गर्ने प्रक्रिया, भ्रष्टाचारका स्वरूप, कसुर तथा सजायबारे जानकारी गराएका थिए । उनले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ देखि २३ सम्मका कानुनी व्यवस्थाबारे समेत सहभागीलाई अवगत गराएका थिए ।
आयोगका अनुसार आर्थिक वर्ष ०८२/०८३ मा म्याग्दे गाउँपालिकाविरुद्ध पाँच वटा उजुरी परेकोमा तीन वटा फर्छ्योट भइसकेका छन् ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न गाउँपालिकाले खेलेको भूमिकाबारे धारणा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामुदायिक वन, टोल विकास संस्था, उपभोक्ता समिति तथा विद्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।