काठमाडौं । रामचन्द्र पौडेल ले प्रतिनिधिसभाका सचिव हर्कराज राई लाई पदबाट हटाएका छन् ।
तत्कालीन सभामुख देवराज घिमिरे को सिफारिसमा २०८१ पुस १६ गते नियुक्त भएका राईलाई संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाका सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम २०८३ वैशाख २९ गते मंगलबारदेखि लागू हुने गरी पदमुक्त गरिएको हो ।
हालका सभामुख डोलप्रसाद अर्याल ले वैशाख २८ गते राईलाई पदबाट हटाउन गरेको सिफारिसका आधारमा राष्ट्रपतिबाट उक्त निर्णय भएको जनाइएको छ ।
नेपालको संविधानको धारा १०६ को उपधारा (१) अनुसार प्रतिनिधिसभाका सचिव नियुक्तिका लागि सभामुखले सिफारिस गर्ने र राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।
राईको पदमुक्तिसँगै संघीय संसद् सचिवालयभित्रको प्रशासनिक तथा राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ । निर्णयको कारणबारे औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।