काठमाडौं / नेपाल–भारत कूटनीतिक सम्बन्धमा नयाँ सक्रियताको संकेत देखिएको छ । नेपाल सरकारले भारतका विदेशमन्त्री डा. एस. जयशंकरलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
मंगलबार आयोजित साप्ताहिक मिडिया ब्रिफिङमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले मौरिससमा भएको भेटवार्ताका क्रममा नेपालका परराष्ट्रमन्त्री शिशिर खनालले जयशंकरलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएको जानकारी दिएका हुन् ।
प्रवक्ता जैसवालका अनुसार दुई देशका विदेशमन्त्रीबीच मौरिससमा सौहार्दपूर्ण र सकारात्मक छलफल भएको थियो । सोही अवसरमा नेपाल भ्रमणको प्रस्ताव पनि राखिएको उनले बताए ।
यद्यपि भ्रमणको मिति भने अझै तय भइसकेको छैन । भारतीय पक्षका अनुसार दुवै देशबीचको आपसी समन्वय र सहमतिपछि भ्रमणको समय निर्धारण हुनेछ ।
ब्रिफिङका क्रममा भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रोकिएको विषयमा पनि प्रश्न उठाइएको थियो । त्यसको जवाफमा प्रवक्ता जैसवालले नेपाल-भारत सम्बन्ध केवल कूटनीतिक मात्र नभई ऐतिहासिक, सांस्कृतिक र पारिवारिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे ।
उनले नेपालमा नयाँ सरकार गठनपछि दुई देशबीच संवाद र सहकार्य थप सक्रिय बनेको पनि बताए । साथै भारतका प्रधानमन्त्री र नेपालका प्रधानमन्त्रीबीच हालै भएको संवादले द्विपक्षीय सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।