काठमाडौं / सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । अधिवेशनको पहिलो दिन नै सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशन तथा प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो अधिवेशनमा संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
संयुक्त बैठकअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक अपराह्न २ बजे बस्नेछ । संसद् सचिवालयले संयुक्त बैठकका लागि सांसदहरूलाई अपराह्न ३ः४५ बजेसम्म उपस्थित भइसक्न अनुरोध गरेको छ ।
आजको प्रतिनिधिसभा बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र पढेर सुनाइने, मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जानकारी गराइने तथा सभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्ने सदस्यहरूको मनोनयन गरिने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ अन्तर्गत जारी गरिएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदनका लागि प्रस्तुत गरिनेछ भने नियमावलीको मस्यौदामाथि पनि छलफल अघि बढाइनेछ ।
यसैबीच सरकारले जारी गरेका आठ वटा अध्यादेश संसद्मा पेस हुने भएका छन् । तीमध्ये ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ तथा ‘संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०८३’ प्रमुख रहेका छन् ।
ती अध्यादेश प्रतिनिधिसभा र राष्ट्रियसभामा एकसाथ पेस गरिने संसद् सचिवालयले जनाएको छ ।