काठमाडौँ / जेनजी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढ्दै गएको छ । विभिन्न देशका कूटनीतिज्ञ, सुरक्षा विज्ञ तथा अन्तर्राष्ट्रिय मामिलाका जानकारहरूले नेपालको पछिल्लो राजनीतिक परिवर्तनलाई दक्षिण एसियाकै महत्त्वपूर्ण घटनाक्रमका रूपमा व्याख्या गरेका छन् ।
नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्टले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा सहभागी विज्ञहरूले युवा नेतृत्व, भ्रष्टाचारविरोधी छवि र जनआकाङ्क्षाले नेपालको राजनीतिमा नयाँ ऊर्जा ल्याएको बताएका छन् । तर उनीहरूले सुधारको गति व्यक्तिकेन्द्रित नभई संस्थागत बन्नुपर्नेमा जोड दिएका छन् ।
अमेरिकाका रणनीतिक विश्लेषक डा. रब योर्कले नेपालले चीन र भारतबीच सन्तुलित कूटनीति कायम राख्नुपर्ने बताएका छन् । उनले अमेरिकाले पनि नेपालसँगको सम्बन्धलाई निरन्तर प्राथमिकतामा राखेको उल्लेख गरे ।चीनका विज्ञ डा. झाङ जियाडोङले नेपालको परिवर्तनलाई “युवा शक्ति र राष्ट्रिय पुनरुत्थान” को संकेतका रूपमा चित्रण गर्दै चीनले नेपालसँग बीआरआई, ऊर्जा तथा पूर्वाधार सहकार्यलाई अघि बढाउन चाहेको बताए ।
भारतका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरनले नेपालमा नयाँ पुस्ताको उदयलाई ऐतिहासिक मोडको रूपमा व्याख्या गर्दै नेपाल-भारत सम्बन्धलाई नयाँ ढाँचामा अगाडि बढाउनुपर्ने बताए ।पाकिस्तान, बंगलादेश र माल्दिभ्सका विश्लेषकहरूले नेपाललाई दक्षिण एसियामा सन्तुलित परराष्ट्र नीति अपनाउने मुलुकका रूपमा व्याख्या गरेका छन् । उनीहरूले नेपालको डिजिटल आधुनिकीकरण, युवा नेतृत्व र समावेशी शासनको प्रयासलाई सकारात्मक रूपमा हेरेका छन् ।
तर, उनीहरूले सामाजिक सञ्जालमा आधारित राजनीति, कमजोर संस्थागत संरचना र अत्यधिक जनअपेक्षालाई दीर्घकालीन चुनौतीका रूपमा पनि औँल्याएका छन् ।रुस, युरोपेली संघ र दक्षिण कोरियाका विज्ञहरूले नेपालमा देखिएको परिवर्तनलाई श्रीलंका र बंगलादेशजस्ता आन्दोलनसँग तुलना गरेका छन् । उनीहरूको निष्कर्ष छ – नेतृत्व परिवर्तन मात्र पर्याप्त हुँदैन, स्थायी सुधारका लागि कर्मचारीतन्त्र, प्रशासन र राजनीतिक संस्कृतिमै परिवर्तन आवश्यक हुन्छ ।
युरोपेली संघका पूर्व कूटनीतिज्ञ जोएल हिभोनेटले भ्रष्टाचार, बेरोजगारी र युवाको विदेश पलायनलाई नेपालको मुख्य चुनौती बताएका छन् ।दक्षिण कोरियाका डा. वोन्ड्युक चोले लोकतन्त्रलाई प्रत्येक पुस्ताले जोगाउनुपर्ने भन्दै नेपालको सुधार अभियान संस्थागत हुन नसके निराशा बढ्न सक्ने चेतावनी दिएका छन्।
जापानी रणनीतिक विज्ञ सातोरु नागाओले नेपालमा चीनको बढ्दो आर्थिक र रणनीतिक उपस्थितिप्रति चिन्ता व्यक्त गरेका छन् । उनले नेपालको ऐतिहासिक र सांस्कृतिक सम्बन्ध भारतसँग गहिरो भएकाले नेपालले सन्तुलित सम्बन्ध कायम राख्नुपर्ने बताएका छन् ।विभिन्न देशका विज्ञहरूले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपाललाई अहिले “युवा नेतृत्व”, “भ्रष्टाचारविरोधी अभियान” र “राजनीतिक पुनर्जागरण” का रूपमा चित्रण गरिरहेको बताएका छन् ।
ब्लूमबर्ग, रोयटर्स र फाइनान्सियल टाइम्सजस्ता विश्वव्यापी मिडियाले नेपाललाई नयाँ राजनीतिक प्रयोगका रूपमा हेरिरहेको विश्लेषण गरिएको छ ।विश्लेषकहरूको साझा निष्कर्ष छ । नेपालले अहिले विश्वको ध्यान तानेको छ, तर यो उत्साहलाई दिगो उपलब्धिमा रूपान्तरण गर्न संस्थागत सुधार, आर्थिक स्थिरता र प्रभावकारी शासन अत्यावश्यक हुनेछ ।