सुनसरी । पछिल्लो समय लघुवित्त क्षेत्रमा ऋण मिनाहाको हल्ला र वित्तीय अस्थिरताको बहस चलिरहेका बेला Forward Microfinance Financial Institution Limited को १३औँ वार्षिक साधारण सभाबाट पूर्वमन्त्री भगवती चाैधरी ले स्पष्ट सन्देश दिएकी छन्—“राज्यले कुनै पनि ऋण मिनाहा गर्न सक्दैन, भ्रम फैलाउने तत्वको पछि नलाग्नुस् ।”
सुनसरीको दुहवी मा सम्पन्न साधारण सभामा प्रमुख अतिथिका रूपमा बोल्दै चौधरीले लघुवित्तमार्फत ग्रामीण महिलाको आर्थिक, सामाजिक र राजनीतिक अवस्थामा आएको परिवर्तनलाई “तीन दशकको सफल अभियान” को रूपमा व्याख्या गरिन् ।
उनले लिएको ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्न आग्रह गर्दै “ऋण सही ठाउँमा प्रयोग गरियो भने मात्रै परिवार र समाज दुवै समृद्ध हुन्छ” भनिन् ।
‘लघुवित्त सुधार्न तीन पक्ष इमानदार हुनुपर्छ’
पूर्वमन्त्री चौधरीका अनुसार लघुवित्त क्षेत्रलाई टिकाउ र प्रभावकारी बनाउन सञ्चालक, कर्मचारी र ग्राहक सदस्य तीनै पक्षको इमानदारी आवश्यक छ ।
कार्यक्रममा विशिष्ट अतिथि अास नारायण चाैधरी ले फरवार्ड लघुवित्तले विपन्न परिवारको आर्थिक उन्नतिमा अझ ठूलो भूमिका खेल्न सक्ने धारणा राखे ।
लघुवित्त क्षेत्र चुनौतीमा
सभामा बोल्दै निवर्तमान सञ्चालक अाशुताेष शर्मा सापकाेटा ले आन्तरिक तथा बाह्य कारणले लघुवित्त क्षेत्रमा नकारात्मक प्रभाव बढ्दै गएको बताए । उनले वित्तीय संस्थाहरूले चुनौतीबीच पनि सेवाग्राहीको विश्वास जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।
नवनियुक्त प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भट्टराइ ले संस्थालाई अझ सबल र विश्वसनीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
शेयर संरचनामा ठूलो परिवर्तन
सभाले संस्थापक र सर्वसाधारण शेयर संरचनामा परिवर्तन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ । यसअघि ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण रहेको शेयर संरचनालाई परिवर्तन गरी अब ६० प्रतिशत संस्थापक र ४० प्रतिशत सर्वसाधारण बनाइने भएको छ ।
त्यससँगै अन्य ‘घ’ वर्गका लघुवित्तीय संस्थासँग गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरिएको छ ।
४० जिल्लामा सेवा, २२ अर्बभन्दा बढी कर्जा लगानी
संस्थाका अध्यक्ष केशव राज पाैडेल का अनुसार फरवार्ड माइक्रोफाइनान्सले हाल ४० जिल्लाका ३८२ स्थानीय तहमा १५९ शाखामार्फत सेवा विस्तार गरेको छ ।
संस्थाले २ लाख ८४ हजारभन्दा बढी विपन्न परिवारसम्म वित्तीय सेवा पुर्याएको जनाएको छ । हाल १ लाख २३ हजार ऋणी सदस्यमा रु. २२ अर्ब २४ करोडभन्दा बढी कर्जा लगानी रहेको छ भने रु. १० अर्ब ७३ करोडभन्दा बढी बचत संकलन भएको जानकारी दिइएको छ ।
संस्थामा ६९५ कर्मचारी कार्यरत रहेका छन्, जसमध्ये ५० प्रतिशत महिला कर्मचारी रहेको संस्थाले जनाएको छ ।