पोखरा । कास्कीको पोखरा–१८ स्थित प्रसिद्ध फेवाताल मा पौडी खेल्ने क्रममा डुबेका ११ वर्षीय बालकलाई नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको छ ।
वैशाख १८ गते भएको घटनामा डुबिरहेका बालकको खबर प्राप्त हुनासाथ नेपाली सेनाको नं. १ विपद् व्यवस्थापन गणबाट खटिएको उद्धार टोली तत्काल घटनास्थल पुगेको थियो । सेनाले सशस्त्र प्रहरी बल नेपालसँग समन्वय गर्दै ती बालकको सफल उद्धार गरेको जनाएको छ ।
उद्धारपछि बालकलाई तत्काल उपचारका लागि गण्डकी अस्पताल पुर्याइएको बताइएको छ ।
घटनापछि फेवाताल क्षेत्रमा सुरक्षा सतर्कता र बालबालिकाको निगरानीबारे पुनः चासो बढेको छ । विशेषगरी गर्मीयाम सुरु भएसँगै ताल तथा नदी क्षेत्रमा पौडी खेल्ने बालबालिकाको संख्या बढ्ने भएकाले अभिभावकलाई थप सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ ।