Gorkha Sansar

बन्दीपुरमा गाउँ पर्यटन मार्ट उद्घाटन, गण्डकीभरका ३० होमस्टे सञ्चालक सहभागी

तनहुँको पर्यटकीय गन्तव्य बन्दीपुरमा आज वैशाख १८ गतेदेखि ‘गाउँ पर्यटन मार्ट’ सुरु भएको छ। गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री यशोदा रिमाल ले कार्यक्रमको उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ ले स्वागत मन्तव्य व्यक्त गर्दै गाउँ पर्यटन प्रवर्द्धनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।
मार्टमा गण्डकी प्रदेशभरिका करिब ३० वटा होमस्टे सञ्चालकहरूको सहभागिता रहेको छ। कार्यक्रममा बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा, नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारी, कास्की शाखाका अध्यक्ष, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका अध्यक्ष लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
ग्रामीण पर्यटनको प्रवर्द्धन, स्थानीय संस्कृति संरक्षण तथा होमस्टे व्यवसायलाई सशक्त बनाउने उद्देश्यले आयोजित कार्यक्रम वैशाख १९ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रममा पर्यटनसँग सम्बन्धित अन्तरक्रिया, अनुभव आदानप्रदान तथा स्थानीय पर्यटन सम्भावनाको प्रवर्द्धनमा केन्द्रित गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।
बन्दीपुर ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित रहेको छ। गाउँ पर्यटन मार्टले बन्दीपुरसहित गण्डकी प्रदेशको ग्रामीण पर्यटनलाई थप गति दिने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.