काठमाडौं / मन्त्रालयले सार्वजनिक गरेको मुलुकको वर्तमान आर्थिक स्थितिपत्रले सार्वजनिक संस्थानहरूको कमजोर प्रदर्शनलाई उजागर गरेको छ । सरकारको लगानी निरन्तर बढ्दै गए पनि त्यसअनुसारको प्रतिफल प्राप्त हुन नसकेको देखिएको हो ।
फागुन २०८२ सम्मको तथ्यांकअनुसार सरकारको पूर्ण स्वामित्वमा रहेका २० र अधिकांश स्वामित्व रहेका २५ गरी कुल ४५ सार्वजनिक संस्थान सञ्चालनमा छन् । तीमध्ये २८ संस्थान नाफामा रहे पनि १५ घाटामा सञ्चालन भइरहेका छन् भने २ संस्थान बन्द अवस्थामा छन् ।
असार २०८१ सम्म सार्वजनिक संस्थानहरूमा सरकारको कुल लगानी ७ खर्ब ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। यसमध्ये ३ खर्ब ६४ अर्ब ८६ करोड रुपैयाँ सेयर लगानी र ३ खर्ब ३९ अर्ब ८ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।
यति ठूलो लगानी भए पनि आर्थिक वर्ष २०८०/८१ मा सरकारले सेयर लगानीबाट मात्र २.४ प्रतिशत अर्थात् ८ अर्ब ८४ करोड रुपैयाँ लाभांश प्राप्त गरेको छ, जुन अत्यन्त न्यून प्रतिफल हो ।
स्थितिपत्रले संस्थानहरूको वित्तीय अवस्था कमजोर रहेको मात्र होइन, सुशासनमा पनि गम्भीर समस्या रहेको औंल्याएको छ । कतिपय संस्थानहरूको नियमित लेखा परीक्षण समेत हुन नसक्दा वास्तविक सञ्चित नोक्सानी र सम्भावित दायित्व यकिन गर्न कठिन भएको उल्लेख गरिएको छ ।
लगानीको तुलनामा न्यून प्रतिफल देखिएकाले सार्वजनिक संस्थानहरूको प्रभावकारी व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्न आवश्यक रहेको अर्थ मन्त्रालयले निष्कर्ष निकालेको छ ।