काठमाडौं । मधेश क्षेत्र तीव्र रूपमा मरुभूमिकरणतर्फ धकेलिँदै गएको चेतावनी दिँदै नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले चुरे संरक्षणलाई अब ‘विकल्प होइन, अनिवार्यता’को रूपमा लिनुपर्ने बताएका छन्।
उनले मधेशमा बढ्दो जल संकटलाई केवल वातावरणीय समस्या नभई आगामी दिनमा खाद्य संकट, बसाइँसराइ र आर्थिक अस्थिरतासम्म जोडिने गम्भीर खतरा भएको औंल्याएका छन्। “आज पानी सुक्दैछ, भोलि खेती हराउँछ, अनि मधेश खाली हुन्छ,” उनले कडा शब्दमा चेतावनी दिएका छन्।
मिश्रका अनुसार, एक समय देशलाई अन्नमा आत्मनिर्भर बनाउने मधेश आज आफैं पानी र उर्वरताको अभावसँग जुधिरहेको छ। यसको मुख्य कारण चुरे क्षेत्रको विनाश, अव्यवस्थित उत्खनन र वातावरणीय बेवास्ता रहेको उनले बताएका छन्।
उनले सरकारलाई सीधा प्रश्न गर्दै भने, “चुरे जोगाउने कि मधेशलाई मरुभूमि बन्न दिने?”
नेता मिश्रले तत्काल अवैध उत्खनन रोक्न, पानी धेरै सोस्ने विरुवामा नियन्त्रण गर्न, वृक्षारोपणलाई अभियानकै रूपमा अगाडि बढाउन र सुक्दै गएका पानीका मुहानहरू पुनर्जीवित गर्न आग्रह गरेका छन्।
उनका अनुसार यदि अब पनि ध्यान नदिने हो भने पानीको चरम अभाव, खेतीप्रतिको निराशा, भोकमरी र जनस्वास्थ्यमा गम्भीर संकट निम्तिने निश्चित छ।