देवदह । रुपन्देहीको देवदह नगरपालिका–९ मा महिलाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित १५ दिने गुडिया बनाउने तालीम सुरु गरिएको छ। वडा कार्यालयको आयोजना तथा फुलबारी आमा समूहको सहजीकरणमा सञ्चालनमा आएको तालीमले स्थानीय महिलाहरूलाई सीपसँगै आम्दानीको अवसर जोड्ने अपेक्षा गरिएको छ।
तालीम उद्घाटन गर्दै वडा अध्यक्ष मोहन जिसीले पछिल्लो समय सञ्चालन भइरहेका सीपमूलक कार्यक्रमहरूले महिलाहरूको क्षमता विकासमा ठोस योगदान पुर्याएको बताउनुभयो। उहाँले सिकेको सीपलाई व्यवहारमा उतार्दै आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिँदै तालीमलाई उद्यमको आधार बनाउन आग्रह गर्नुभयो। “सीप सिकेर मात्रै पुग्दैन, त्यसलाई आम्दानीमा रूपान्तरण गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार यस्ता कार्यक्रमले महिलाहरूलाई घरमै बसेर पनि साना तथा घरेलु उद्योग सञ्चालन गर्न प्रेरित गर्ने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। आगामी दिनमा आवश्यकताअनुसार थप व्यावसायिक तालीमहरू सञ्चालन गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
तालीममा २५ जना महिलाको सहभागिता रहेको छ। सहभागीहरूले गुडिया निर्माणसम्बन्धी सीप सिकेर स्वरोजगारतर्फ अग्रसर हुने लक्ष्य राखिएको छ।
उद्घाटन कार्यक्रममा वडा सदस्य कृष्ण माया राना, लक्ष्मी विक, प्रगति सामाजिक वनका अध्यक्ष दुर्गा बहादुर राना, टोल विकास संस्थाका अध्यक्ष झलक बहादुर थापा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सदस्य राधा बुढाथोकीको सञ्चालन तथा रिता सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो।
देवदहमा ‘गुडिया सीप’बाट महिलाको आर्थिक सशक्तीकरण सुरु