काठमाडौँ / चालु आर्थिक वर्ष २०८२/८३ को नौ महिनामा नेपालको वैदेशिक व्यापार उल्लेख्य रूपमा विस्तार भई कुल १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । भन्सार विभागको पछिल्लो तथ्याङ्कअनुसार यस अवधिमा आयात र निर्यात दुवै बढेका छन्, तर आयातको उच्च दरका कारण व्यापार घाटा थप चापमा परेको देखिएको छ ।
समीक्षा अवधिमा नेपालले १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यही समयमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको थियो ।
यता निर्याततर्फ भने तुलनात्मक रूपमा सकारात्मक सुधार देखिएको छ। गत वर्ष १ खर्ब ८८ अर्ब १९ करोड रुपैयाँ रहेको निर्यात यस वर्ष बढेर २ खर्ब २२ अर्ब ९३ करोड पुगेको छ, जुन १८.४६ प्रतिशतको वृद्धि हो ।
निर्यातमा सुधार भए पनि आयातको ठूलो आकारका कारण व्यापार घाटा अझै उच्च रहेको छ । नौ महिनामा व्यापार घाटा १३.०४ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा यो घाटा ११ खर्ब २१ अर्ब ३३ करोड रुपैयाँ थियो ।
यद्यपि कुल व्यापारमा निर्यातको हिस्सा भने क्रमशः बढ्दो क्रममा छ। गत वर्ष १२.५७ प्रतिशत रहेको निर्यातको हिस्सा यस वर्ष बढेर १३.०१ प्रतिशत पुगेको छ । त्यस्तै आयातको हिस्सा ८७.४३ प्रतिशतबाट घटेर ८६.९९ प्रतिशतमा झरेको छ ।
आयात–निर्यात अनुपातमा पनि सामान्य सुधार देखिएको छ । फागुनसम्म १ रुपैयाँको निर्यात गर्दा ६.७५ रुपैयाँको आयात हुने गरेकोमा चैतसम्म आइपुग्दा यो अनुपात घटेर ६.६९ मा सीमित भएको छ। यसले निर्यात विस्तार हुँदै गए पनि आयातको निर्भरता अझै उच्च रहेको संकेत गर्छ ।
समग्रमा, निर्यातको वृद्धि उत्साहजनक भए पनि आयातको तीव्र विस्तारका कारण नेपालको व्यापार घाटा अझै नियन्त्रणबाहिर जाने जोखिम कायम रहेको देखिन्छ ।