काठमाडौं / सरकारले राष्ट्रसेवक कर्मचारीहरूलाई प्रत्येक १५ दिनमा तलबभत्ता उपलब्ध गराउने तयारी अगाडि बढाएको छ । अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक तयारी गर्न निर्देशन दिइसकेको जनाएको छ ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार मन्त्रालयबाट परिपत्र प्राप्त भइसकेको छ र निर्णय कार्यान्वयनको प्रक्रिया छिट्टै सुरु हुने तयारीमा छ । कर्मचारीहरूको हातमा समयमै पैसा पुग्दा आर्थिक गतिविधि चलायमान हुने अपेक्षासहित यस्तो निर्णय गरिएको मन्त्रालयको भनाइ छ ।
हालसम्म सरकारी कर्मचारीहरूले मासिक रूपमा तलबभत्ता पाउँदै आएका छन्, जुन सामान्यतः प्रत्येक महिनाको अन्तिम सातामा सम्बन्धित बैंक खातामा जम्मा हुने गरेको छ । तर नयाँ व्यवस्था लागू भएमा कर्मचारीहरूले प्रत्येक १५ दिनमा भुक्तानी पाउनेछन् ।
यद्यपि, यो निर्णय कार्यान्वयन गर्नका लागि विद्यमान संघीय निजामती सेवा ऐनमा संशोधन आवश्यक पर्ने देखिएको छ । हालको कानुनी व्यवस्थामा कर्मचारीलाई मासिक रूपमा तलबभत्ता दिने प्रावधान रहेकाले नयाँ प्रणाली लागू गर्न ऐन परिमार्जन अनिवार्य हुने अर्थ मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।
सरकार अहिले नयाँ संघीय निजामती सेवा ऐन ल्याउने तयारीमा रहेकाले सोही ऐनमार्फत १५/१५ दिनमा तलब वितरणको व्यवस्था समावेश गर्ने योजना बनाइएको छ । ऐन पारित भएसँगै यो निर्णय कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।