बन्दीपुर, तनहुँ
नयाँ वर्षको अवसरमा ऐतिहासिक पर्यटकीय गन्तव्य बन्दीपुरमा आन्तरिक पर्यटकको उत्साहजनक उपस्थिति देखिएको छ। विशेष गरी बन्दीपुर केवलकार सञ्चालनसँगै पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको देखिएको हो।
नयाँ वर्षकै दिन बन्दीपुर केवलकारमार्फत मात्र करिब २२०० जना पर्यटक बन्दीपुर पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। सांस्कृतिक संयोजक लक्ष्मी प्रसाद सापकोटाका अनुसार यस वर्ष अघिल्ला वर्षको तुलनामा पर्यटकको चाप उल्लेख्य रूपमा बढेको छ।
पर्यटकको बढ्दो आगमनसँगै बन्दीपुरका होटल, रेष्टुरेन्ट तथा स्थानीय व्यवसायहरूमा समेत चहलपहल बढेको छ। स्थानीय व्यवसायीहरूले नयाँ वर्षले व्यापार व्यवसाय चलायमान बनाएको प्रतिक्रिया दिएका छन्।
प्राकृतिक सौन्दर्य, परम्परागत नेवारी संस्कृति र शान्त वातावरणका कारण बन्दीपुर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। नयाँ वर्ष, सार्वजनिक बिदा तथा विशेष अवसरहरूमा यहाँ पर्यटकको भीड लाग्ने गरेको छ।
स्थानीय तह तथा सरोकारवाला निकायहरूले पर्यटकको व्यवस्थापन, सरसफाइ र सुरक्षामा विशेष ध्यान दिइएको जनाएका छन्।
नयाँ वर्षमा बन्दीपुरमा पर्यटकको घुइँचो, केवलकारबाटै २२०० भन्दा बढी आगमन