काठमाडौं / देशभर आजदेखि दोस्रो राष्ट्रिय आर्थिक गणना सुरु भएको छ । यसका लागि आवश्यक गणक तथा सुपरीवेक्षकहरू सम्बन्धित क्षेत्रमा खटिइसकेको राष्ट्रिय तथ्याङ्क कार्यालय ले जनाएको छ ।
निर्धारित कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र सम्पन्न गरिने लक्ष्य राखिएको छ । गणनामा करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ ।
अर्थ मन्त्रालय ले देशको समग्र आर्थिक तथा औद्योगिक अवस्थाबारे यथार्थ जानकारी संकलन गर्न यो गणना महत्वपूर्ण भएकाले सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
यस आर्थिक गणनामा उद्योग, व्यापार, सेवा, सहकारी, निजी तथा सार्वजनिक संस्थाहरूको संख्या, प्रकृति, लगानी, रोजगारी, उत्पादन तथा सेवा प्रवाहलगायत १८ वटा आर्थिक क्षेत्रका आधारभूत विवरण संकलन गरिनेछ ।
त्यसक्रममा दर्ता भएका तथा नभएका साना-ठूला व्यापारिक प्रतिष्ठान, रोजगारी सिर्जना गर्ने उद्योग, स्वरोजगार व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी निकाय, विद्यालय तथा अस्पतालहरू समेत समेटिनेछन् ।
गणनाको तयारी चरण अन्तर्गतका कामहरू गत फागुन मसान्तमै सम्पन्न भइसकेका छन् । चैत महिनाको सुरुदेखि नै देशभर ७७ जिल्लासहित थप ७ स्थानमा गरी ८४ वटा कार्यालय स्थापना गरिएको छ, जुन असार मसान्तसम्म सञ्चालनमा रहनेछन् ।
यसअघि विसं २०७५ मा गरिएको आर्थिक गणनाअनुसार देशभर ९ लाख २३ हजार ३५६ प्रतिष्ठान सञ्चालनमा रहेको तथ्य सार्वजनिक भएको थियो ।