Gorkha Sansar

एआई तथा मोबाइल पत्रकारिता सम्बन्धी २ दिने तालिम तनहुँमा शुरु

 

सञ्चारकर्मीलाई एआइ तथा मोवाइल पत्रकारिता तालिम

तनहुँ
नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको आयोजना तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको सहयोगमा एआई तथा मोबाइल पत्रकारिता तालिम बुधबारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले गर्नुभयो ।
उद्घाटन समारोहमा प्रमुख अतिथि त्रिपाठीले प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको स्वरूप पनि परिवर्तन भइरहेको उल्लेख गर्दै कृत्रिम बुद्धिमत्ता र मोबाइल प्रविधिको सही प्रयोगले सूचना प्रवाहलाई अझ प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सक्ने बताउनुभयो। “स्थानीय तहका गतिविधि, विकास निर्माण र जनसरोकारका विषयलाई आम नागरिकसम्म पु¥याउन आधुनिक पत्रकारिता अपरिहार्य छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णप्रसाद लम्सालले डिजिटल युगमा पत्रकारहरूले नयाँ सीप हासिल नगरे सूचना क्षेत्रमा पछाडि पर्न सक्ने बताउनुभयो। उहाँले राज्य र सञ्चार क्षेत्रबीचको सहकार्यबाट विश्वसनीय र तथ्यपरक सूचना प्रवाह सुदृढ हुने धारणा राख्नुभयो ।

गण्डकी प्रदेश प्रेस रजिष्टार विमला भण्डारीले प्रदेश सरकारले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको बताउँदै जिम्मेवार र तथ्यमा आधारित पत्रकारिता आजको आवश्यकता भएको उल्लेख गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सोनी शर्माले सूचना प्रविधिको विकासले अवसरसँगै चुनौती पनि ल्याएको भन्दै गलत सूचना (मिसइन्फर्मेसन) नियन्त्रणमा पत्रकारहरूको भूमिका अझ महत्वपूर्ण बनेको बताउनुभयो ।

शाखाका अध्यक्ष डिपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासङ्घ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल तथा पूर्व अध्यक्षहरू प्रेमप्रसाद पौडेल, डम्बरबहादुर अधिकारी र ओमकार आचार्यले पनि तालिमले जिल्लाका पत्रकारहरूलाई समयानुकूल सीप प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

बुधबार र बिहीबार सञ्चालन हुने तालिममा जिल्लाभरका करिब ४० जना पत्रकारको सहभागिता रहेको शाखाका सचिव कृष्ण न्यौपानेले जानकारी दिनुभयो । तालिममा प्रशिक्षक जीवन भण्डारीले सहजीकरण गर्नुहुनेछ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.