Skip to main content

Gorkha Sansar

नेपाली र नेपालभाषा गीतसंगीतका वरिष्ठ साधक रत्न बेहोसी ‘नेपालरत्न’ सम्मानित

 

काठमाडौं ।वरिष्ठ लोकगायक रत्न (बेहोसी) बज्राचार्यलाई नेपालरत्न सम्मान प्रदान गरिएको छ । नेवाः साधना कला केन्द्रले ९० औं जन्मजयन्तीको अवसरमा उनलाई यो सम्मान अर्पण गरेको हो ।

नेपाली र नेपालभाषाको गीतसंगीतमा जीवनभर पुर्‍याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै यो सम्मान दिइएको केन्द्रका पौभाः सायिमले जानकारी दिए। सम्मान कार्यक्रम ललितपुरको ज्यापु प्रज्ञा भवनमा आयोजित “नेपालरत्न सम्मान तथा रत्न बेहोसी एकल साँझ” कार्यक्रममा सम्पन्न भएको हो ।

यसअघि पनि बेहोसीलाई ललितरत्न सम्मान र गणेशदेवी स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ। उनले १२ वर्षको उमेरदेखि नै नाटक तथा संगीतमा आफ्नो कलायात्रा प्रारम्भ गरेका थिए।

२०१० सालदेखि निरन्तर नेपाली र नेपालभाषाको गीतसंगीतमा सक्रिय रहँदै आएका उनले २०१३ सालमा रेडियो नेपालमा स्वर परीक्षण दिएका थिए । १७ जना उम्मेदवारमध्ये एकल गायकको रूपमा सफल हुने उनी सोही दिन रेडियो नेपालमा प्रत्यक्ष प्रसारणमार्फत गीत गाउने गायकसमेत बने। त्यो समय रेडियो नेपालमा प्रत्यक्ष प्रसारणमा प्रवेश पाउने अवसर निकै थोरै कलाकारलाई मात्रै उपलब्ध थियो ।

उनको समकालीन पुस्तामा स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य, गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान, वरिष्ठ संगीतकार नातीकाजी श्रेष्ठ, शिवशंकर मानन्धर र भक्तराज आचार्य जस्ता प्रख्यात संगीतकार तथा गायकहरू रहेका थिए । यी सबैलाई आधुनिक नेपाली गीतसंगीतको दोस्रो पुस्ताका अगुवा मानिन्छ ।

त्यसभन्दा पहिलेका संगीत साधकहरू—मास्टर रत्नदास प्रकाश, हरिकृष्ण श्रेष्ठ र बच्चु कैलाश—लाई पहिलो पुस्ताका गायकका रूपमा स्मरण गरिन्छ ।

बेहोसीले नेपालभाषामा करिब ५० र नेपाली भाषामा कम्तिमा १० गीत गाएका छन्। साथै, उनले रचना गरेका दर्जनौँ गीतहरू अझै पनि क्यासेटमा सुरक्षित छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.