हिलारी सोमबार मनास्लुको चुचुरोबाट स्की गरेर तल झर्ने क्रममा मनाङ जिल्लाकाे भीमथाङ क्षेत्रमा एक्कासी बेपत्ता भएकी थिइन । बुधबार बिहान शेर्पाहरुले मृत शरिर भेटाएका थिए ।
नेल्सनको शव निकालेर चुमनुव्री गाउँपालिका वडा नम्बर १ स्थित सामागाउँ ल्याएर मुचुल्का उठाइ सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए । ‘उहाँको शव हिउँबाट निकालेर सामागाँउ ल्याई पुर्याएको र प्रक्रिया पुर्याएर सिम्रिक एयरको हेलिकप्टर मार्फत काठमाण्डौंको टिचिङ अस्पताल पठाएका छौं ।’
मृतकको शवको काठमाण्डौ टिचिङ अस्पतालमा पोस्ट्मार्टम गरिने सांग्रिला नेपाल ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले बताउनुभयाे । उनीसँगै स्की गर्न गएका जिम मोरिसन भने सकुशल आधार शिविरमा फर्केका थिए ।
नर्थफेसकी एथलेट हिलारीले सन् २०१८ मा मोरिसनसँगै स्की गर्दै ल्होप्से हिमालको चुचुरोबाट अवरोहण गर्नु सफल हुनुभएकाे थियाे । ८ हजार मिटरमाथिको २ वटा हिमालको चुचुरोबाट स्की गरेका हिलारी मनास्लु हिमालमा स्की गर्ने क्रममा ज्यान गुमाउन परेकाे छ ।
अमेरिकाको सियाटलमा जन्मनु भएकी हिलारीलाई सन् २०१८ मा नेसनल जोग्रोफिकले साहसी खेलाडीको सूचीमा राखेको थियो । सन् २००५ मा उनले चोयु हिमालको चुचुरोबाट स्की गरेकी थिइन