आँबुखैरेनी, ३० असार । तनहुँको आँबुखैरेनी गाउँपालिकाले निर्माण गर्न लागेको ५ तले बहुउद्देश्यीय भवनको आज शिलान्यास गरिएको छ । एक कार्यक्रमका बीच आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले निर्माणधिन सो बहुउद्देश्यीय भवनको शिलान्यास गर्नु भएको हो । करिब १३ करोड ७४ लाख १ हजार ७ सय ८१ रुपैयाँ ३० पैसाको लागत अनुमानमा बहुउद्देश्यीय भवनको निर्माण गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभएको छ । गाउँपालिकाको आन्तरिक आयमा वृद्धि गर्न तथा यस क्षेत्रका जनताहरुलाई सर्बसुलभ सेवा सुबिधा प्रदान गर्न बहुउद्देश्यीय भवन निर्माण गर्न लागिएको अधिकृत पोखरेलको भनाई रहेको छ । भवन निर्माणको पहिलो चरणको काम श्री ज्ञान ज्योति विल्डर्स प्रा. लि. काभ्रेले २ करोड ३९ लाख ८८ हजार ७ सय ७८ रुपैयाँ ७७ पैसामा मिति २०७९ साल कार्तिक १५ गते भित्रमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष सुनाराम गुरुङको सभापतित्वमा सम्पन्न निर्माणधिन बहुउद्देश्यीय भवनको शिलान्यास समारोहमा गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापा, उपाध्यक्ष पुष्पा देवि श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल, वडा नं. ३ का वडाध्यक्ष पुर्ण बहादुर आले, वडा नं. ४ का वडाध्यक्ष नेत्र गुरुङ, नेपाली काङ्ग्रेस आँबुखैरेनी गाउँ पार्टीका सभापति केशवनाथ खनाल, पुर्व गाविस अध्यक्ष एवम् वडा नं. ३ का वडा सदस्य ऋषि केसि, आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसि लगाएतकाले मन्तव्य राख्नु भएको थियो ।