पालुङटार नगरपालिकाले पालिकाभर निशुल्क शवबाहन सेवा उपलब्ध गराउने

पालुङटार नगरपालिकाले पालिकाभर निशुल्क शवबाहन सेवा उपलब्ध गराउने भएको छ । कोही नगरबासीको मृत्यू भएमा उनीहरुको शव व्यवस्थापन गर्नु नगरपालिकाको दायित्व भएकाले निशुल्क रुपमा शववाहन सेवा दिने निर्णय हालै सम्पन्न नगरसभाले गरेको हो ।

पालिकाको सबै वडामा सवारी साधन चल्ने रोड निर्माण भएकाले मृतकको शव अन्त्येष्टिका लागि पालिकाले निशुल्क शवबाहन उपलब्ध गराउने कार्यक्रम घोषणा गरेको हो । साथै नगरबासीलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने पनि नगरसभाले निर्णय गरेको छ । त्यस्तै बालबालिकाको पोषणस्थिति सुधार गर्नका लागि पालुङटार नगरपालिकाले एकमुष्ठ नौ करोड चौध लाख रुपैयाँ विनियोजन गरेको छ ।

सो नगरपालिकाले ‘किसानका गरा, हराभरा’ कार्यक्रमलाई आउदो आर्थिक बर्षदेखि अघि बढाउने भएको छ । क्षयीकरण हुदै गएको माटो परीक्षण गर्ने, वातावरण अनुकूल हुने गरी बाली लगाउने, शीत भण्डार निर्माण गरी सञ्चालन गर्ने र खाद्य सुरक्षाको प्रत्याभूति गराउने कार्यक्रमका लागि सो नगरपालिकाले यसबर्ष एक करोड १० लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै पालुङटार नगरपालिकालाई मासु र दूधमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कार्यक्रम अघि बढाउन एक करोड आठ लाख रुपैयाँ विनियोजन गरेको छ ।

वैदेशिक रोजगारीबाट फर्केकालाई गाउँठाउँमै स्वरोजगार बनाउने कार्यक्रमका लागि पालिकाले २७ लाख रुपैयाँ विनियोजन गरेको छ । पर्यटनसम्बन्धी गतिविधिका लागि ३५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

शिक्षक तथा विद्यालय व्यवस्थापन समितिको क्षमता अभिवृद्धि गर्ने, शैक्षिक संस्थाको शैक्षिक गुणस्तर वृद्धि गर्न सो पालिकाले उनान्तीस करोड विनियोजन गरेको छ ।

नगरपालिकाका १० वटै वडामा एक वडा एक पोखरी निर्माण तथा सिमसार क्षेत्र संरक्षण र खानेपानी तथा सरसफाइतर्फ एकमुष्ट एक करोड विनियोजन गरेको छ ।

नगरपालिका स्तरको युवा सञ्जाल निर्माण, युवाको क्षमता विकास, युवाको प्रतिभा खोजी तथा प्रोत्साहन कार्यक्रम गर्न, युवाहरुको रुची अनुसारको खुल्ला व्यायमशाला, नृत्य प्रशिक्षण केन्द्र स्थापना आदि काकर्यक्रमका लागि ४२ लाख रुपैयाँ विनियोजन गरेको छ ।

पालुङटार नगरपालिकाले सडक तथा यातायात क्षेत्रको विकासका लागि चार करोड रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै विपदबाट क्षतिग्रस्त खेतीयोग्य क्षेत्रको बाँध कुलो मर्मतसम्भारका लागि एक करोड विनियोजन गरेको छ । आवास तथा सहरी विकासतर्फ छ करोड, बजार क्षेत्रमा सिसि क्यामेरा जडान गर्ने, नगरपालिकाको तथ्यांक डिजिटलाइज कार्यक्रमका लागि तीस लाख विनियोजन गरेको छ ।

चुतीखोला तथा खारखोला जलाधार व्यवस्थापनका लागि दुई करोड ८५ लाख विनियोजन गरेको छ । त्यस्तै संस्थागत संरचना तथा मानव संशाधन विकास गर्न १५ करोड, वित्तीय स्रोत परिचालनका लागि आठ करोड विनियोजन गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.