पृथ्वी राजमार्ग अझै १९ दिन राति ४ घण्टा बन्द हुने

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको विमलनगरदेखि घाँसीकुवा सडकखण्ड बन्द हुने समय थप गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी काशीराम गैरेले उक्त सडकखण्ड अझै १९ दिन बन्द हुने भएको जानकारी दिएका हुन्।

मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पूर्वी खण्डअन्तर्गत विमलनगरदेखि घाँसीकुवा खण्डमा मर्मतका लागि चैत १२ देखि ३० गतेसम्म राति ४ घण्टा राजमार्ग बन्द गरिने भएको छ।

यस क्षेत्रमा भिर कटान अझै बाँकी रहेकाले आइतबार सूचना जारी गरी समय थपिएको गैरेले जानकारी दिए। उनका अनुसार यसअघि दुई पटक समय थपिए पनि भिर कटान नसकिएकाले समय थपिएको हो। यसअघि फागुन २८ देखि चैत १२ गतेसम्म राति ४ घण्टा राजमार्ग बन्द सूचना प्रकाशित गरिएको थियो।

गैरेले पहिलो पटक सूचना जारी गर्दै फागुन १८ देखि २७ गतेसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुँदै आएको यो खण्ड पुनः चैत १२ गतेसम्म बन्द गरी सडकको भित्तो काट्ने काम गरिने जानकारी गराएका थिए।

उक्त समयसम्म अत्यावश्यक सवारीसाधनबाहेक अन्य सवारीसाधन पूर्णरूपमा बन्द गरी काम गर्ने जिल्ला सुरक्षा समिति बैठकले निर्णय भएको जानकारी उनले दिए।

रासस

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.