
रत्ननगर । रत्ननगरमा कोभिड–१९ विरुद्धको खोपको दुरुपयोग भएको भन्दै राष्ट्रिय शक्ति नेपालका युवाहरुले शुक्रबार रत्ननगर नगरपालिकामा प्रदर्शन गरेका छन् ।
राष्ट्रिय शक्ति नेपालका जिल्ला अध्यक्ष कृष्ण लामा, सचिव विशाल डल्लाकोटी, कोषाध्यक्ष विराज चौधरी, केन्द्रीय अभियन्ता विकास उप्रेतीसहितको टोलीले रत्ननगर नगरपालिका परिसरमा कोरोना खोप खोइ, कोभिडविरुद्धको खोपमा भेदभाव किन, खोप आफ्नालाई हो ? रत्ननगरमा घोटालालगायतको प्लेकार्डसहित विरोध प्रदर्शन गरेका थिए ।
रत्ननगर नगरपालिकामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका वृद्धवृद्धा र कोभिड–१९ को अग्रपंक्तिमा खटिएकाहरुका लागि आएको खोप नगर प्रमुख नारायण वनको परिवारका सदस्य, उद्योग वाणिज्य संघका पदाधिकारी र उनीहरुका परिवार, विभिन्न राजनीतिक दलका नेतालगायतले लगाएको सार्वजनिक भएपछि राष्ट्रिय शक्ति नेपालले खबरदारी कार्यक्रम गरेको हो ।
राष्ट्रिय शक्ति नेपालले रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दुवाडी र प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलको ध्यानाकर्षण गराउँदै खोपको दुरूपयोग गर्नेलाई कारबाहीको माग गरेका छन् । उनीहरुले खोप लगाउनको लागि तोकिएको लक्षित उमेर समूह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अग्रपंक्तिमा खटिएकाबाहेक खोप लगाएकाहरुले नाम सार्वजनिक गर्न मागसमेत गरेका छन् ।
नगरपालिकाकी उपप्रमुख विमला दुवाडीले स्वास्थ्य शाखा र अस्पतालबाट कमजोरी भएको स्वीकार गरेकी छन् । उद्योग वाणिज्य संघको टोलीले झुक्याएर खोप लगाएको उनले दाबी गरेकी छन् । उद्योग वाणिज्य संघको टोलीले नगरपालिकाले पठाएको भन्दै धम्याएर रत्ननगर अस्पताल गएर खोप लगाएको दुवाडीले बताइन् । उनले खोप लगाउने स्वास्थ्यकर्मीलाई आन्तरिक कारबाही गरिएको बताइन् ।
रत्ननगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले स्वास्थ्य शाखाको कमजोरीको कारण तोकिएको वर्ग बाहेककाले खोप लगाएको बताए । उनले स्वास्थ्य शाखासँग स्पष्टीकरण मागेको जानकारी दिए ।
राष्ट्रिय शक्ति नेपाल भ्रष्टाचारविरोधी आन्दोलनमा सरिक हुँदै आएको छ । यसअघि खैरहनी नगरपालिकामा भएको खोप अनियमितताबारे पनि सो पार्टीले ध्यानाकर्षण गराइसकेको केन्द्रीय अभियन्ता विकास उप्रेतीले जानकारी दिए । chitwanpost