
चितवन, साउन १२–
रिक्सा लिएर सम्पर्कविहीन भएपछि भरतपुर महानगरपालिका–१४ शिवनगरका ४१ वर्षीय राजकुमार गुरुङको हत्या भएको खुलासा भएको छ ।
गत असार २३ गते भरतपुर–१० स्थित मैयाँदेवी कन्या कलेज नजिक झाडीमा बोरोमा बाधिएको अवस्थामा गुरुङको शव फेला परेको थियो । घटना पश्चात पक्राउ परेका चार जनाबाट अनुसन्धान गर्दा रिक्साकै कारण गुरुङ हत्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवंम प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
प्रहरीले घटनामा संलग्न तनहुँ भानु नगरपालिका वडा नं.४ साल बिस्ने घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बसोबास गर्ने वर्ष ३४ को कमल गन्धर्व, रौतहट गजुरा नगरपालिका वडा नं.१ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बसोबास गर्ने वर्ष ३० को अमृत भन्ने अम्मर बहादुर थिङ, दाङ घोराही उपमहानगरपालिका वडा नं.११ घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बसोबास गर्ने वर्ष २४ का सागर ओली र भरतपुर महानगरपालिका वडा नं.८ गौरीगञ्ज बस्ने वर्ष ३१ का प्रकाश वि.क.लाई पक्राउ गरेको छ ।
घटनामा संलग्न तनहुँ भानु नगरपालिका वडा नं.४ सालबिस्ने घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बसोबास गर्ने वर्ष २८ का लक्ष्मी मगर र सोही स्थान घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० कवर्डहलमा बसोबास गर्ने वर्ष ४५ को सिता गन्धर्व फरार रहेको प्रवक्ता थापाले जानकारी दिए । उनीहरुको खोजी कार्य भइरहेको उनले बताए ।
प्रहरीले पक्राउ परेकाहरुलाई कर्तव्य ज्यान कसुर अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत चितवन जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता थापाले जानकारी दिए । यस्तै अभियुक्तहरु मध्ये एक जना बालक भएकाले उनको नाम गोप्य राखिएको प्रहरीले जनाएको ।
यसरी भयो गुरुङको हत्या
तनहुँको भानु नगरपालिका वडा नं.४ सालबिस्ने घर भई हाल भरतपुर महानगरपालिका वडा नं.१० गेष्टहाउस चौरको मन्चमा अस्थाई बसोबास गर्ने वर्ष ३४ का कमल गन्धर्व भाडामा ठेला रिक्सा लिएर काम गर्दै आइरहेका थिए । गन्धर्वले व्यावसाय प्रयोजनको लागी प्रतिदिन रु.१५० को दरले भाडामा सो रिक्सा लिएका हुन् ।
गत असार ६ गतेका दिन राजकुमार गुरुङले गन्धर्वबाट सोही रिक्सा मागेर लिएर गए । केही समयको लागी भन्दै मागेर लिएर गएपछि गुरुङ सोही दिनबाटै गन्धर्वसंग सम्पर्कमा आएनन् । सम्पर्कमा नआएपछि गन्धर्व आत्तिदै गुरुङलाई खोज्दै जाँदा असार १९ गते अपरान्ह ६ बजे भरतपुर–१०, स्थित मालपोतचोकमा फेला पारे तर गुरुङको साथमा रिक्सा थिएन । ठेला रिक्सा साथमा नभएपछि उनले गुरुङलाई नियन्त्रणमा लिएर आफू बसोवास गर्ने स्थान गेष्टहाउस चौरको अस्थाई बसोबास गर्ने स्थानमा ल्याए ।
आफू बस्ने स्थानमा ल्याएपछि कमल गन्धर्व, उनकी श्रीमती लक्ष्मी मगरले ३० वर्षीय अमृत भन्ने अम्मर बहादुर थिङ, २४ वर्षीय सागर ओली, ३१ वर्षीय प्रकाश वि.कलाई बोलाए । उनीहरुको साथ लिएर सामूहिक रुपमा गुरुङलाई मरणाशन्न हुनेगरी कुटपिट गरे । कुटाई खाएपछि गुरुङले सो ठेला रिक्सा कालिका नगरपालिकास्थित पदमपुरमा लगेर विक्री गरेको बताएपछि उनीहरु अझै आक्रोशित बने ।
उनीहरु सोही दिन साँझ अन्दाजी ६ः३० बजेको समयमा कमलले अटो रिक्सा रिजर्भ गरी श्रीमती लक्ष्मी मगर, अम्मर बहादुर थिङ्, सागर ओली, प्रकाश वि.क. सहितले गुरुङलाई लिएर ठेला रिक्सा लिन भनेर पदमपुर पुगे । तर त्यहाँ पनि रिक्सा फेला नपरेपछि राती ९ बजे पुनः गेष्ट हाउस चौरमा फर्किए । सो रात गेष्टहाउस चौरमा कमल र गुरुङसहित केही व्यक्ति सोही स्थानमा बसे पनि केही आफ्नो गन्तव्यतर्फ गए । सोही राती अन्दाजी १०ः३० बजेको समयमा गुरुङको मृत्यु भयो । गुरुङको मृत्यु भएपछि कमलले कुटपिटमा संलग्न अन्यलाई खबर गरी घटना लुकाउनका लागि शवलाई बोरामा बाधेर एकान्त स्थान छनौट गरी फाल्ने योजना बनाए ।
योजना मुताविक नै कमल गन्धर्व, अमृत भन्ने अम्मर बहादुर थिङ, सागर ओली समेतले रातको समयमा भरतपुर–१२ स्थित केन्द्रिय टर्मिनल बसपार्क ठेला रिक्सा घटनास्थलसम्म ल्याएर गुरुङको शवलाई बोरामा बाँधी कोही कसैले नदेख्ने गरी भित्री सडकको प्रयोग गरी मैयाँदेवी कन्या कलेज अगाडिको झाडीमा फालेर उनीहरु फरार भए । घटनामा संलग्नहरुलाई शव फेला परेकै दिन प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।
Source: narayani online