
पृथ्वी राजमार्गको मुग्लिङ्ग कोत्रे सडक खण्ड अन्तर्गतमा पर्ने तनहुँको बन्दीपुर १ नाहालमा भाँसिएको सडक मर्मत गर्नका लागि ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको छ ।
सोमबार देखि परेको निरन्तर वर्षाका कारण राजमार्ग भाँसिएपछि सवारी सञ्चालनमा समस्या आएको हो । सडक मर्मतका लागि शुक्रबार र शनिबार ठूला मालबाहक गाडी चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । उहाँका अनुसार आँबुखैरेनी तर्फबाट आउने र दमौलीतर्फ जाने ठूला मालबाहक गाडीलाई प्रवेशमा रोक लगाइएको छ ।
यस्तै डुम्रे सडकखण्डमा शुक्रबार बिहान ९ बजेदेखि १२ बजेसम्म ठूला तथा साना सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । सडक भाँसिएर वैकल्पिक मार्ग बनाइए पनि वैकल्पिक मार्गमा नै सवारी साधन फस्न थालेपछि सडक अवरुद्ध भएको हो । हाल सयौं संख्यामा सबारीसाधनहरु रोकिएर रोडमा नै अलपत्र परेका छन् ।