Trending

चन्द्र शमशेरको पत्र जसले लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्छ

पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अति’क्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ ।

गर्ब्याङ, गुन्जी, बुदी, छाङरु र तिंकर गाउँका मुखियाले आफ्नो क्षेत्रमा आन्तरिक रूपमा जग्गा अति’क्रमण तथा गरिब, दु:खीमाथि थिचोमिचो भइरहेको भनेर प्रधानमन्त्री चन्द्रशमशेरलाई विसं १९६१ असार १८ गते पत्र लेखेको खबर देवेन्द्र भट्टराई, बिनु सुवेदीले कान्तिपुर दैनिकमा लेखेका छन ।

उक्त पत्रको जवाफ दिँदै प्रधानमन्त्री चन्द्रशमशेरले ‘आफ्ना रैतीलाई असुबिस्ता गराउनेलाई कानुनअनुसार दण्ड–स’जाय गर्नू’ भनेर राजकीय पत्र लेखेका थिए ।

प्रधानमन्त्री चन्द्रशमशेर जबराले १९६१ सालमा दार्चुलाका मुखियालाई लेखेको पत्र । गर्ब्याङ, गुन्जी, बुदीलगायत पाँच गाउँका मुखियाले गाउँमा भएको थिचोमिचो जानकारी गराएपछि चन्द्रशमशेरले राजकीय पत्र पठाएका थिए

नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा गत साता सार्वजनिक गरेपछि नेपाल सरकारले लिम्पियाधुरासम्मको भूभाग भोगाधिकारका निम्ति औपचारिक प्रमाण जुटाउने क्रममा राजकीय पत्र फेला परेको हो । पत्रमा उल्लेख गरिएका यी गाउँमध्ये बुदीको केही भाग, गर्ब्याङ र गुन्जीलाई केही वर्षयता भारतले दाबी गर्दै आएको छ । छाङरु र तिंकर भने दार्चुलामै पर्छन् ।

त्यति बेला मुखियाहरू गब्र्याङका गोबरसिंह बुढा, गुन्जीका ञेरा बुढा, तिंकरका नैनसिं बुढा, बुदीका पनिया बुढा र छाङरुका धनीराम बुढाले चन्द्रशमशेरलाई पत्र लेखेका थिए । ‘५ गाउँका तालुकदारहरूका नाउँमा सनद गरी बक्स्याको जग्गाहरूमा कसैले कसैका सन्धिसर्पन थुनी जग्गा रोकिदिने गर्दा निर्धा–गरिबहरूले जग्गा तिराउन/कमाउन नपाउने भई सरकारको पनि ठेक्का/तिरो नबढाएको हुनाले’ प्रधानमन्त्रीमा जानकारी गराइएको बारे पत्रमा सन्दर्भ उल्लेख गरिएको छ । उक्त जग्गाको फुकुवा गर्न र गरिब जनतालाई न्याय दिन दार्चुला अमिन कार्यालयमा लैजान सकिनेसमेत जनाइएको छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले १९६१ सालमा दार्चुलाका मुखियालाई लेखेको पत्र । गर्ब्याङ, गुन्जी, बुदीलगायत पाँच गाउँका मुखियाले गाउँमा भएको थिचोमिचो जानकारी गराएपछि चन्द्रशमशेरले राजकीय पत्र पठाएका थिए । पत्रले त्यसबेला गाउँ–गाउँको साँध–सिमाना गाउँले ठूलाबडाबाट मिचिएको र निर्धा–गरिबको जग्गा ह-डप्ने काम बढेको भन्ने बुझाउँछ । यी ५ गाउँका रैतीहरूमा कसको जग्गा कुन हो, कसको मिचिएको छ वा हडपिएको छ भन्ने छुट्याउन र सन्धिसर्पन मिलाएर राख्न पाए सरकारको समेत आम्दानी बढ्न सक्ने भनेर अनुरोध पत्र लेखिएको देखिन्छ ।

‘यो ऐतिहासिक दस्ताबेज हो । हाम्रो भूमिको आधिपत्यका लागि यो पत्र प्रमाण दरिलो आधार बनेको देखिन्छ,’ मानक नेपाली भाषा र राजकीय पत्र अध्ययनमा पारंगत अध्येता महेशराज पन्तले कान्तिपुरसँग भने, ‘यो प्रमाणले त्यसबेला पत्र लेख्ने विशिष्ट शैलीसमेतलाई सम्झाएको छ जहाँ जवाफ फर्काउँदा अघिल्लो पत्रमा सोधिएको र राखिएको जिज्ञासासमेत (रिफरेन्स) उल्लेख गर्दै सम्बोधन गरिएको हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker