एजेन्सी : कोरोना भाइरसले विश्वब्यापी रुपमा मच्चाएको आतंक र यसको संक्रमणको गतिका करण अहिले सिंगो विश्व आक्रान्त छ । एक ब्यक्तिबाट अर्को हुँदै तिब्र गतिका साथ फैलिंदै जाने यसको विशेषताका कारण विश्व समुदाय कोरोना भाइरसबाट त्राहिमाम बनेको हो । तर सिंगापुरका अनुशन्धानकर्ताहरुले पत्ता लगाएको तथ्य भने यसको ठिक विपरित देखिन्छ । जस अनुसार कोरोना संक्रमित कुनै पनि ब्यक्ति संक्रमण भएकोे ११ दिन पछि अरुलाई सार्न सक्षम हुँदैन । सिंगापुरको राष्ट्रिय संक्रामक रोग केन्द्र (एनसीआईडी) का वैज्ञानिकहरुले यस्तो दावी गरेका हुन । कोरोना संक्रमित कुनै पनि ब्यक्ति लक्षण देखिनु दुई दिन अघि नै संक्रमणमा परेका हुन्छन । अर्थात सामान्यतया लक्षण देखिनु दुई दिन अघि उक्त ब्यक्ति संक्रमित हुने वैज्ञानिकहरुको खोजबाट पत्ता लागेको नयाँ तथ्य हो ।
एनसीआईडीका वैज्ञानिकहरुले अस्पतालमा भर्ना भएका ७३ जना कोरोना संक्रमित विरामीहरुमा अनुशन्धान गरेका थिए । सिंगापुरबाट प्रकाशित हुने अखबार ‘स्ट्रेट टाईम्स’ का अनुसार कोरोना संक्रमित विरामीमा कोरोनाको लक्षण देखिन थालेको सात दिनसम्म शरीरमा भाईरसको संख्या अत्यधिक गतिका साथ बृद्धि हुन्छ । यो अवधीमा भाइरस हावाको सम्पर्कमा पनि जाने सम्भावना अधिक हुन्छ । तर आठ या दशौं दिन पछि कोरोना भाइरस कम्जोर हुँदै जान्छ भने ११औं दिनमा पूर्ण रुपमा नष्ट हुन्छ । यस बारेमा थप स्पष्ट पार्दै एनसीआईडीका निर्देशक लियो यि ले भने, “कोरोनाको लक्षण देखिएको विरामी ११ दिन पछि अर्को ब्यक्तिका लागि हानिकारण हुँदैन ।”
यो अनुशन्धानमा सहभागी भारतीय मुलका डाक्टर अशोक कुरुपले अनुशन्धानबाट प्राप्त यहि तथ्यका आधारमा चिकित्सकहरु विरामीको उपचारमा जुट्नु पर्ने बताए । सिंगापुरमा रहेको चलन अनुसार २४ घण्टामा २ पटक संक्रमितको स्वाब नमुना संकलन गरि परीक्षण गरिन्छ । दुवै पटक नेगेटिभ रिपोर्ट आएपछि विरामीलाई अस्पतालबाट डिस्चार्ज गराइन्छ । कोरोना संक्रमित विरामीलाई छुंनासाथ सर्छ भन्ने मान्यता स्थापित भएको वर्तमान अवस्थामा एनसीआईडीले सार्वजनिक गरेको तर्क ठिक उल्टो जस्तो लाग्छ । उसका अनुसार स्वाब परीक्षणमा पोजेटिभ रिपोर्ट आएको कुनै पनि ब्यक्ति अर्को ब्यक्तिलाई कोरोना सार्ने मुख्य कारण हुँदैन ।
एनसीआईडीको यो तर्क सार्वजनिक भएपछि सिंगापुरमा कोरोना संक्रमित विरामीको उपचार र हेरचाह गर्ने क्रममा संक्रमण नफैलियोस भनेर बनाईएका कडा भन्दा कडा नियमहरुमा परिवर्तन आउने अपेक्षा पनि गरिएको छ । कुनै ब्यक्ति कोरोनाबाट संक्रमित भई लक्षण देखिन थालेको ११ दिन पछि रोग सार्ने दृष्टिले अरुका लागि घातक नबन्ने भएपनि, गंभीर अवस्थाका विरामीहरुलाई भने उनिहरुकै स्वास्थ्यमा थप समस्या आउन नदिन छुट्टै राखेर उपचार गर्नु परेको अनुशन्धानकर्ताहरुले बताएका छन ।
यसअघि जर्मनीमा पनि यस्तै अनुशन्धान गरिएको थियो । सिंगापुर र जर्मनी दुवै मुलुकमा गरिएका अनुशन्धानबाट प्राप्त तथ्यहरु मिल्न गएका छन । जर्मनीमा गरिएको एक अनुशन्धानले देखाएको नतिजा यस्तो छ– ‘कोरोना भाइरस संक्रमण भएको सात दिनसम्म संक्रमितमा भाइरसको फैलावट तिब्र गतिमा भयो । संक्रमितको घाँटी र फोक्सोमा भाइरसको संख्या बढ्ने क्रम पनि तिब्र बन्यो । तर पछि यसको गति विस्तारै घट्दै गयो र ११ दिन पछि भाइरस नष्ट भयो ।’