बहुचर्चित रत्नपत्थर (क्वार्ज क्रिस्टल) गोरखामै राख्न माग

गोरखामा भेटिएको बहुचर्चित रत्नपत्थर (क्वार्ज क्रिस्टल) गोरखामै राख्न स्थानीय सरकार तथा विभिन्न सामाजिक संघसंस्थाले माग गरेका छन् । गोरखा नगरपालिका ७ स्थित राममाया शाहीको घरबाट गत असार १४ गते प्रहरीले बरामद गरेको सो रत्नपत्थर गोरखामै राख्न गोरखा नगरपालिका, गोरखा उद्योग वाणिज्य संघ, गुरुगोरक्ष धाम सिद्धाश्रम केन्द्रलगायतका संघसंस्थाले माग गरेका हुन् ।

खानी तथा भूगर्भ विभागले सो पत्थरलाई क्वार्ज क्रिस्टल भएको पुष्टि गरी विभागमा बुझाउन सिफारिस गरेलगत्तै यहाँका संघसंस्था तथा नागरिक अगुवाहरुले जिल्लाबाट बाहिर लान नहुने माग गरेका हुन् । ‘खानी तथा भूगर्भ विभागको टोलीबाट स्थलगत तथा प्रयोगशाला परीक्षण गर्दा उक्त पत्थर महत्वपूर्ण खनिज भएकाले खानी तथा भूगर्भ विभागको जिम्मा लगाउनुपर्ने भनी रायसहितको प्रतिवेदन जिल्ला प्रशासन कार्यालयमा पेश गरेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, गोरखा नगरपालिकाद्वारा जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीसमक्ष पेश गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘उक्त बहुमूल्य रत्नपत्थर कुनै खनिज पदार्थ मात्र नभै देवताको रुपमा पूजा गर्दै आएको धार्मिक, सांस्कृतिक, ऐतिहासिक र आस्थाको विषयसंग सम्बन्धित भएकोले यसलाई अन्यत्र लैजाने विषयले यहाँको धार्मिक, सांस्कृतिक सद्भाव भड्किने तथा धार्मिक द्वन्द्वको सुरुवात हुने खतराप्रति यहाँका धार्मिक समूह, सामाजिक संघसंस्था तथा नागरिक समाजका प्रवुद्धवर्गले बारम्बार सचेत गराइरहेको विषयमा पनि यहाँको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’ सो पत्थरलाई अलौकिक शिलाका रुपमा पूजा हुदै आएको भन्दै आस्थामाथि खेलवाड नगर्न नगरपालिकाले सचेत गराएको छ ।

राज्य एकीकरण अभियानका बेलादेखि नै समग्र राज्य र नेपालीलाई शक्ति प्रदान गर्ने प्रतीकका रुपमा सो शिलालाई पुजिँदै आएको भन्दै नगरपालिकाले यसलाई गोरखा बाहिर नलगी गोरखा दरबार, गोरखकाली मन्दिर वा गोरखा संग्रहालयमा राख्ने वातावरण बनाउन सुझाव दिएको छ ।

‘यस रत्नपत्थरलाई अलौकिक शक्तिका रुपमा पुजिँदै आएकाले यसलाई जिल्ला बाहिर पठाउँदा सनातनी धर्मावलम्बीहरुमा आघात पुग्नुका साथै गोरखाली, गोरखा भूमिको विरासत एवं अलौकिक सम्पत्ति, जो कुनै बहानामा गोरखा भूमिबाट बाहिर जाने वातावरण सिर्जना भएमा यहाँको सामाजिक, संस्कृतिक तथा धार्मिक सद्भाव भड्किनेतर्फ ध्यानाकर्षण गराउँदै आएकाले यस आस्थाको केन्द्रलाई गोरखा संग्रहालय, गोरखकाली मन्दिरमा राख्ने व्यवस्था मिलाउन र उक्त व्यवस्था मिलाउन गोरखा नगरपालिकाले के कस्तो सहयोग गर्नुपर्ने हो, सो सहयोग गर्न समेत तत्पर रहेको व्यहोरा जानकारी गराउँदछौँ । त्यसैले उक्त शिला यस जिल्लाबाट अन्यत्र लैजाने कार्य रोकी जिल्लाको उपयुक्त स्थानमा प्रतिस्थापन गरेर यहाँको ऐतिहासिक तथा धार्मिक सद्भाव जोगाउने व्यवस्था मिलाइदिन अनुरोध गर्दछौँ ।’ मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर र प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुनले बिहिबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई संयुक्त रुपमा सो ध्यानाकर्षणपत्र पेश गरेका थिए ।

सो ध्यानाकर्षण पत्र नगरपालिकाद्वारा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, गृहमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, तथा सभामुख गण्डकी प्रदेश, जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा तथा प्रदेशसभाका सदस्य र खानी तथा भूगर्भ विभागको पनि ध्यानाकर्षण गरिएको छ ।

त्यस्तै गोरखा उद्योग वाणिज्य संघले बिहिबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसमक्ष पेश गरिएको ध्यानाकर्षण पत्रमा पृथ्वीनारायण शाहले राज्य एकीकरणका बेला शक्ति आर्जनका लागि प्रयोग गरेको सो रत्नपत्थरको बहुआयामिक महत्व रहेकाले यसलाई जिल्ला बाहिर लैजान नहुने उल्लेख गरिएको छ ।

‘सयौँ बर्ष प्राचीन सो बहुमूल्य रत्नपत्थर पृथ्वीनारायण शाहले विभिन्न राज्य एकीकरण गर्न जाँदा संगै लिएर जाँदा शक्ति प्राप्त हुने हुँदा संगै लिएर हिँडेको भन्ने किंवदन्ती छ’, संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठद्वारा हस्ताक्षरित सो ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘राष्ट्रनिर्माताले आफ्नो जीवनको अन्तिम समयमा नुवाकोट देवीघाटबाट उक्त विरासत बोकेको पत्थर गोरखा पु¥याउने आदेश दिएअनुसार बाघवीर शाही र गणेशमान शाहीको जिम्मामा उनीहरुको घरसम्म आइपुगेको इतिहास छ ।

त्यस्तो महत्वपूर्ण ऐतिहासिक पत्थर गोरखाबाट बाहिरिएमा एकातर्फ गोरखाको इतिहासको महत्वसमेत नष्ट हुने छ भने, अर्कातिर धार्मिक, सांस्कृतिक अवस्थामासमेत खलल पुग्ने हुँदा उक्त पत्थर गोरखा दरबार, गोरखकाली मन्दिर वा गोरखा संग्रहालयमा सुरक्षितपूर्वक राख्ने वातावरण मिलाइदिनुहुन अनुरोध गरिन्छ ।’ संघका अध्यक्ष श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्केलगायतले संयुक्त रुपमा सो ध्यानाकर्षण पत्र पेश गरेका हुन् ।

साथै गुरु गोरक्षधाम सिद्धाश्रम केन्द्र गोरखाले पनि प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै अलौकिक सम्पत्तिको रक्षाको लागि यथाशीघ्र निर्णय गरिदिन माग गरेको छ ।

उक्त शिलालाई चन्द्रमान शाहीको पुर्खाले आफ्नो कुल देवता मानी पूजा गर्दै आएको र उक्त शिला दरौदी नदी कटाउन हुदैन भन्ने भनाइ समेत रहेको बताइएको छ । विभिन्न वहाना बनाई उक्त ढुंगा गोरखाबाट बाहिर जाने वातावरण सिर्जना गरेमा अनिष्ठ समेत हुनसक्ने सिद्धाश्रम केन्द्रले जनाएको छ । सो संस्थाले पिता पुर्खाको समयदेखि पूजा गर्दै आएको सो पत्थर जिल्लाभित्रै राखी नियमित पूजा गर्ने वावरण मिलाइदिन आग्रह गरेको छ ।

गत असार १४ गते गोनपा–७ स्थित एक घरबाट प्रहरीले ५४ किलो तौलको उक्त ढुंगा बरामद गरेको थियो । अवैध रुपमा किनबेच हुन लागेको सुचनाको आधारमा ढुंगा बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त ढुंगा केहीदिनअघि खानी तथा भूगर्भ विभागको विज्ञ टोलीले प्रयोगशाला परीक्षण गरी बहुमूल्य पत्थर क्वार्ज क्रिस्टल भएको पुष्टी गरेको छ । सो पत्थर अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा रहेको छ । विभागको टोलीले ५४ किलोग्राम तौल रहेको सो क्वार्ज क्रिस्टल अहिलेसम्म फेला परेको मध्येकै ठूलो र बहुमूल्य मानेको छ ।

अनुसन्धानको क्रममा विभागका विज्ञ टोलीले बहुमूल्यका हिसाबले १० उत्कृष्ठ पत्थरमध्य हिरा दशौँ नंबरमा र सो क्वार्ज क्रिस्टल सातौं नंबरमा पर्ने बताएका थिए ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker