उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका १ लार्केपासमा गएका गाईड मृत भेटिएका छन् ।
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङलामु गाउँपालिका १ का ३८ वर्षिय पुछोतर शेर्पा असोज २२ गतेदेखि बेपत्ता भएका हुन् । बेपत्ता शेर्पाको मंगलवार शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए ।
हिमालयन ट्रेक नामक कम्पनीबाट दुई जना फ्रान्सेली नागरिक सहित उनी र पोटर फुर्वा लामा सँगै गएका थिए ।
फुर्वा लामाले शेर्पा बेपत्ता भएको बारे चुमनुब्री गाउँपालिका १ सामागाउँ प्रहरीलाई खबर गरेका हुन् । सँगै गएका पर्यटक भने लार्के पास गरेर मनाङ तर्फ गएका छन् । बेपत्ताको खोजी भईरहेको थियो ।
मंगलवार मृत अवस्थामा भेटिएपछि एभरेष्ट एयरको हेलिकप्टरले शव पोष्टमार्टमकालागि काठमाण्डौँ लगेको डिएसपी लामिछानेले बताए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।