थम्मन थापा
बागलुङ मंसिर १५
शरिरको अमुल्य वस्तु मध्ये रगत पनि एक हो । नेपालमा रगतको अभावमा कैयौं मानिसहरुले ज्यान गुमाएका खबरहरु हामीले बेला बखतमा सुनिरहेका र देखिरहेका छौं ।
नागरिकले स्वस्थ जीवन जिउन पाउने नैसर्गिक अधिकारलाई मध्यनजर गर्दै रोट्रयाक्ट क्लव अफ गलकोटले हटिया बजारमा एक दिने रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको लागि नेपाल रेडक्रस सोसाईटी बागलुङले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले युवाहरुले गरेको परोपकारी कामले आफुलाई गौरव लागेको बताएकी छन । “पछिल्लो समय ग्रामीण क्षेत्रमा युवाहरु विदेशिने क्रम बढदो छ, भएका युवाहरु पनि सामाजिक कार्यमा खासै रुचि राख्दैनन यो उदाहरणिय कार्य हो सबैले अनुसरण गर्नुपर्छ” नगर उपप्रमुख काउचाको भनाई छ । युवाहरुले सामाजिक कार्यमा देखाएको सकृयता र रचनात्मक कार्यमा गलकोट नगरपालिकाले सदैव आवश्यक सहयोग गर्ने उनले प्रतिवद्वता समेत जनाईन ।
सो अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङका सभापति जब्बर बहादुर लामिछानेले मन्तव्य राखेका थिए । रक्तदान कार्यक्रममा गलकोट नगर स्थित कर्मचारी, शिक्षक, विद्यार्थी, सञ्चारकर्मी, सुरक्षाकर्मी सहित सर्वसाधारण सहभागी थिए ।
क्लवले कोरोना माहामारीको समयमा जिल्लाको गलकोट नगरपालिका र तमानखोला गाउँपालिकामा हेल्प क्याम्प सञ्चालन, विपन्न परिवारलाई खाद्यान्न, लत्ताकपडा सहयोग लगायतका सामाजिक कार्यहरु सम्पन्न गरिसकेको छ । कार्यक्रम संस्थाका सचिव कमल खरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।
Facebook Comments Box