Skip to main content

Gorkha Sansar

बरिष्ट कलाकार मदनकृष्ण श्रेष्ठकाे गाेप्य कुरा, कसरी जाेडेका थिए बैबाहिक सम्बन्ध?

काठमाडौं, 

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो कलाकारितालाई अघि बढाउने क्रममा हरिवंश आचार्यसँग जोडी बाँधे । महजोडीको ‘मह’ का रुपमा कला जगतमा यो जोडी खुब जमेन मात्र, पुस्तो चर्चित पनि भयो । उनै मदनकृष्णले आफ्नो जीवनयात्रा सफल पार्न भने ‘दुइटा’ बिहे गरे ! उनको लभ अफेयर्स र ‘दुइटा’ बिहेको रोचक प्रसंग उनी कहिल्यै भुल्न सक्दैनन् ।
‘केटी खोज्दै अफिसका टेबुल–टेबुल चहारेँ’

मदनकृष्ण कर्मचारी सञ्चयकोषमा जागिर खान्थेँ । एकपटक कोषले एकैपटक ६० जना सहायक स्तरका कर्मचारी माग गरेको थियो । त्यसमा आवेदन गरेका ४०० मध्ये ४ जना केटी र ५६ जना केटा छनोट भएर काममा भर्ती भए ।
मदनकृष्णमा उखरमाउलो वैंश चढिसकेको थियो तर बिहे भएको थिएन । उनी केटीतर्फ स्वाभाविक रुपले आकर्षित हुन थालेका थिए । यही बेला अफिसमा भर्ना भएका नयाँ केटी कस्ता होलान् भन्ने कुतकुतीले उनको मन पिरलिरहेको थियो । उनी टेबुलटेबुल चहार्न थाले, केटी हेर्न । एउटी पुण्डरी आचार्य भन्नेले नाम निकालेको उनलाई थाहा थियो । पुण्डरी कस्ती होली भनेर खोज्दै जाँदा उनले भेट्न त भेटे तर उनी केटी नभएर केटा पो रहेछन् । मदनकृष्ण हिस्स परे । तर यो क्रम उनले रोकेनन्, बाँकी ४ केटीको तलास गरी नै रहे । यही क्रममा उनले यशोदा सुवेदीलाई आफ्नै टेबुलको सामुन्ने काम गरिरहेको पाए । यशोदा पहिलो दृष्टिमै उनलाई परीजस्ती लाग्न थाल्यो ।
अन्ततः मदनकृष्णको खोजी त्यहीँ रोकियो । उनी यशोदाप्रति आकर्षित होइन, मोहित नै भएका थिए । अब कसरी उनीसँग बोल्ने र नजिकिने भन्ने ध्याउन्न थियो ।

बिस्तारै बोलचाल र गफगाफ सुरु भयो । दुवै जना नजिकिँदै गए । हुँदाहुँदा दुवैमा प्रेम टुसाउन थालिसकेछ, एकले अर्कालाई नदेख्दा नियास्रो मान्न थाले ।
मदनकृष्ण एक किसिमले यशोदाप्रति पागल नै भइसकेका थिए । यशोदामा पनि हालत खराब हुँदै थियो । अब दुई एक हुने दिनको प्रतीक्षा हुन थाल्यो । तर त्यसमा ठूलो तगारो थियो– जातको ।
मदनकृष्ण नेवार, यशोदा बाहुन । कसरी हुन सक्छ बिहे ? दुवैको साझा चिन्ता यही थियो । बिस्तारै मदनकृष्णका बुबाले यो कुरा थाहा पाएछन् । उनले छोरालाई चेतावनी दिएछन् कि सुवेदी थरकी केटीसँग प्रेममा फसेको छस् रे, त्यसलाई भगाएर ल्याइस् भने तेरोमेरो सम्बन्ध चट् । मदनकृष्ण जे त होला भनेर अघि बढिरहे, प्रेमको डोरी बाटिरहे ।

एकदिन दुईबीच गम्भीर सल्लाह भयो, भागीबिहे गर्ने । बिहे त गर्ने तर कसरी ? निकै गाह्रो थियो । मदनकृष्ण काठमाडौं, जितपुरफेदीका प्रधानपञ्च रामकृष्णका छोरा । यशोदा र मदनकृष्णको सम्बन्धबारे उनका केही साथीहरुलाई थाहा थियो । उनीहरु दुवैले आफ्नो योजना साथीहरुलाई सुनाए र सहयोगको आग्रह गरे । साथीहरु पनि जोडी बाँधिदिन तयार भए । न्युरोडको झोंछेमा डेरा खोजियो, दुलही राख्ने । कोठामा आवश्यक सामग्री साथीहरुले उधारोमै जोरजाम गरिदिए ।

अन्ततः भक्तपुर सूर्यविनायकमा तीस जनाजति साथीहरुबीच यशोदालाई मदनकृष्णले सिँदुर हाले । उनैले ल्याएको औंठी यशोदालाई लगाइदिए । के लगन, के साइत, लौ बिहे त सकियो । दुवैतर्फका घरपरिवारमा सुइँकोसम्म भएन ।

केही समयपछि दुवैतिर उनीहरुले बिहे गरेको कुरा थाहा भयो । मदनकृष्णका बुबाले सोचे, आखिर बिहे त गरिहाले, अब पछुताएर के गर्ने ? यिनीहरुको जोडी बाँधिदिनुपर्छ भनेर भेट्ने चाँजोपाँजो मिलाए । अनि परम्परागत शैलीमै बिहे गराएर घर भित्र्याए ।
यसरी उनीहरुको दुईपटक बिहे भयो । दुईपटक बिहे भएको कुरालाई कसैले बंग्याइदिएछ र मदनकृष्णले त दुइटी बिहे गरेको छ भनेर हल्ला फिँजाइदिएछ । त्यसमा कसैले थपेछ, एउटी श्रेष्ठ थरकी, अर्की सुवेदी । यो हल्ला यशोदाको माइतीघरसम्मै पुगेछ ।
त्यति मात्र कहाँ ? मदनकृष्णकी बहिनीलाई पनि कसैले सुनाइदिएछ, ‘तिम्रो दाइले त दुइटा बिहे गरेको छ रे !’ यशोदासँग एकपटक भागेर, अर्काेपटक सहमतिमा दुईपटक बिहे गरेको कुरालाई कुरौटेहरुले हुँडलिदिएछन् र दुइटी बिहे गरेको हल्ला फिँजाएछन् । सबैलाई हँसाउन माहिर मदनकृष्णलाई यसले भित्रभित्रै हाँसो मात्र उठेन, रिस पनि उठेको थियो ।

मेरोफिल्मबाट

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.