काठमाडौं । परम्परागत रूपमा दिवङ्गत प्रियजनहरूको सम्झना, हास्य र व्यङ्ग्यसँग जोडिएको गाईजात्रा पर्व यस वर्ष लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि पहिचान, स्वतन्त्रता, विविधता र सामूहिक अस्तित्वको उत्सवका रूपमा काठमाडौँका सडकमा देखिने भएको छ।
‘जीवनको उत्सव मनाऔँ, विविधतालाई सम्मान गरौँ, विविधतालाई आत्मसात् गरौँ’ भन्ने नारासहित जिएसएम समुदायले भदौ १३ गते काठमाडौँमा विशेष गाईजात्रा उत्सव आयोजना गर्ने भएका छन्।
राष्ट्रिय लैङ्गिक तथा यौनिक अल्पसंख्यक महासङ्घ, मायाको पहिचान नेपाल, लिड नेपाल र इन्क्लुसीभ फोरम नेपाललगायतका संस्थाको संयुक्त आयोजनामा हुने उत्सवले परम्परागत गाईजात्रालाई समकालीन सामाजिक बहससँग जोड्ने प्रयास गर्नेछ।
दिउँसो १ बजे ठमेलस्थित सञ्चयकोष भवनबाट सुरु हुने र्याली वसन्तपुर दरबार क्षेत्रमा पुगेर समापन हुनेछ। र्यालीमा रङ्गिन पहिरन, सङ्गीत, नृत्य, कला, हास्य र व्यङ्ग्य मात्र नभई राजनीतिक सहभागिता, प्रतिनिधित्व, समानता र समावेशीकरणको मागसमेत मुखरित गरिने आयोजकले जनाएको छ।
शोकको परम्पराबाट समुदायको सम्झनासम्म
उत्सवको सबैभन्दा भावनात्मक पक्ष भने दिवङ्गत जिएसएम समुदायका सदस्यहरूको सम्झना हो। वसन्तपुर क्षेत्रमा दीप प्रज्वलन गर्दै बितिसकेका सदस्यहरूको जीवन, योगदान र समुदायभित्रको स्थानलाई सम्मान गरिनेछ।
आयोजकहरूले अघि सारेको एउटा सन्देश विशेष अर्थपूर्ण छ—जैविक परिवारले सम्झियोस् वा नसम्झियोस्, समुदायले आफ्ना सदस्यहरूलाई सधैँ सम्झिरहनेछ।
यही भावनाले गाईजात्रालाई जिएसएम समुदायका लागि केवल मनोरञ्जन वा सांस्कृतिक प्रदर्शनको कार्यक्रमभन्दा पनि सामुदायिक स्मृति र ऐक्यबद्धताको मञ्च बनाएको देखिन्छ।
२०५९ देखि सडकमा देखिँदै आएको पहिचान
अधिकारकर्मी सुनिल बाबु पन्तको नेतृत्वमा जिएसएम समुदायले सन् २००२ अर्थात् २०५९ सालदेखि सामूहिक रूपमा गाईजात्रा मनाउन थालेको हो। दुई दशकभन्दा लामो यात्रामा यो उत्सव समुदायको दृश्यता, आत्मअभिव्यक्ति र अधिकारको सार्वजनिक मञ्चका रूपमा विकसित हुँदै आएको छ।
पहिलो संविधानसभा सदस्य तथा मायाको पहिचान नेपालका कार्यकारी निर्देशकसमेत रहेका पन्तका अनुसार गाईजात्रा उनीहरूका लागि केवल दिवङ्गत सदस्यहरूको सम्झनाको दिन होइन।
“जीवन, पहिचान, विविधता र आत्मअभिव्यक्तिको स्वतन्त्रताको उत्सव मनाउनु हो,” पन्तले भने, “हास्य, व्यङ्ग्य, कला, सङ्गीत र सांस्कृतिक अभिव्यक्तिमार्फत सामाजिक स्वीकार्यतालाई अझ बलियो बनाउनु हाम्रो उद्देश्य हो।”
उनले गाईजात्राले बोकेको पाँच सय वर्षभन्दा पुरानो सांस्कृतिक इतिहासलाई समुदायले आफ्नै अनुभव र पहिचानसँग जोडेर नयाँ अर्थ दिएको बताए।