गोरखा । देशको एउटा कुनामा विपद् पर्दा अर्को कुनामा रहेका नागरिकको मन पनि दुख्छ भन्ने मानवीय भावना प्रस्तुत गर्दै गोरखाको पालुङटार नगरपालिका–७, च्याङ्लीस्थित जीवन ज्योति माध्यमिक विद्यालयका SLC Batch 2072 का पूर्वविद्यार्थीहरू तथा साथी संगीहरू ले रसुवा बाढीपीडितका लागि ४० हजार ३९७ रुपैयाँ सहयोग जुटाएका छन्।
रसुवामा आएको भीषण बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले सोही ब्याचका साथी–संगीहरूबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा पठाइएकाे SLC Batch 2072 का सुरज बि.क. ले जानकारी दिनुभयो।
रसुवामा आएको बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा बेपत्ता व्यक्तिको खोजी कार्य जारी रहेको छ। विपद्को चपेटामा परेका परिवारलाई तत्काल राहत तथा पुनःस्थापनाका लागि विभिन्न सरकारी निकाय, सामाजिक संघसंस्था तथा नागरिकस्तरबाट सहयोग जुटाउने क्रम चलिरहेको छ।
यही विपद्को घडीमा जीवन ज्योति माध्यमिक विद्यालयमा सँगै अध्ययन गरेका पूर्वविद्यार्थीहरूले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पीडितको पक्षमा सहयोगको हात बढाएका हुन्। उनीहरूको यो पहलले विद्यालयले प्रदान गर्ने शिक्षा किताब र कक्षाकोठामा मात्र सीमित हुँदैन, त्यसले विद्यार्थीलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारी पनि सिकाउँछ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
वर्षौँअघि विद्यालयबाट छुट्टिएर आ–आफ्नो क्षेत्रमा रहेका साथीहरूलाई एउटै मानवीय उद्देश्यले पुनः जोड्नु आफैँमा महत्वपूर्ण पक्ष हो। साथी–संगीहरूसँग रकम संकलन गरी विपद्मा परेका नागरिकका लागि सहयोग गर्नुले उनीहरूमा रहेको सामाजिक चेतना, मानवीय संवेदना र राष्ट्रिय एकताको भावनालाई उजागर गरेको छ।
सुरज बि.क.का अनुसार सहयोग रकम साथी–संगीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको हो। रकम सानो वा ठूलोभन्दा पनि विपद्को समयमा पीडित नागरिकको साथमा उभिने भावना महत्वपूर्ण रहेको उहाँको भनाइ छ।
पूर्वविद्यार्थीहरूको यो अभियानले युवा पुस्तालाई समेत सकारात्मक सन्देश दिएको छ। देशको कुनै भूभागमा प्राकृतिक विपत्ति आइपर्दा त्यसलाई केवल स्थानीय समस्या नठानी सम्पूर्ण नेपालीको साझा पीडा र साझा जिम्मेवारीका रूपमा लिनुपर्ने भावनालाई उनीहरूले व्यवहारमै प्रस्तुत गरेका छन्।
विद्यालयमा सँगै पढेका साथीहरूबीचको मित्रता आज रसुवा बाढीपीडितको पीडामा मल्हम लगाउने अभियानमा परिणत भएको छ। उनीहरूको यो कदमले ‘देश जहाँ दुख्छ, त्यहाँ नेपाली मन पुग्छ’ भन्ने राष्ट्रिय भावनालाई थप बलियो बनाएको छ।
रसुवा बाढीपीडितका लागि जुटाइएको ४० हजार ३९७ रुपैयाँ सहयोग केवल आर्थिक रकम मात्र नभई पीडामा रहेका नागरिकप्रति गोरखाका युवाको ऐक्यबद्धता, मानवीय संवेदना र राष्ट्रप्रेमको प्रतीक बनेको छ।

