गोरखा । गण्डकी प्रदेश साइक्लिङ्ग संघको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशनबाट गोरखाका दुई जना पदाधिकारी तथा सदस्यमा सर्वसम्मत चयन भएका छन् ।
संघको उपाध्यक्षमा पालुङटार नगरपालिका–२ आँपपिपलकी प्रमिला गुरुङ राना र सदस्यमा पालुङटार नगरपालिका–५ का धिरज थापा सर्वसम्मत चयन भएका हुन् ।
पोखरा महानगरपालिका–१० स्थित रंगशालामा रहेको गण्डकी प्रदेश खेलकुद विकास परिषद्को परिसरमा सम्पन्न अधिवेशनले संघको अध्यक्षमा अशोक चालिसेलाई सर्वसम्मत चयन गरेको छ । त्यस्तै पुरुष उपाध्यक्षमा भीमबहादुर सुनार, सचिवमा वामन चालिसे, सह–सचिवमा डा. पदम घले र कोषाध्यक्षमा रविश्वर आचार्य चयन भएका छन् ।
यसैगरी संघको सदस्यमा ध्रुवराम प्रधान, केबी शाही, अरुण पौडेल, संजोग लामिछाने र कपिल सिग्देल सर्वसम्मत चयन भएका छन् ।
गण्डकी प्रदेशका ११ वटै जिल्लामा साइक्लिङ्ग खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले संघ गठन गरिएको हो । संघले प्रदेशभित्र साइक्लिङ्ग खेलको पूर्वाधार विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताको आयोजना र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
गोरखाबाट प्रमिला गुरुङ राना उपाध्यक्ष तथा धिरज थापा सदस्यमा चयन भएसँगै जिल्लाको साइक्लिङ्ग खेलको विकास र प्रदेशस्तरीय गतिविधिमा गोरखाको सहभागिता अझ प्रभावकारी हुने विश्वास गरिएको छ ।