Skip to main content

Gorkha Sansar

जाजरकोटमा लेदोसहितको भीषण पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई अझै बेपत्ता

जाजरकोट । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२, रिसाङ क्षेत्रमा आएको लेदोसहितको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ भने दुई जना अझै बेपत्ता रहेका छन्। पहिरोमा परी सात जना घाइते भएका छन्, जसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

पहिरोमा परी सोही ठाउँका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन्।

घाइतेमध्ये रामबहादुर शाही र भद्रकला कार्कीको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज तथा सुर्खेततर्फ पठाइएको छ।

जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि नेपालगन्ज रिफर गरिएका भेरी नगरपालिका–२, साल्धाराका ५२ वर्षीय केदार कार्कीको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

यसअघि पहिरोमा बेपत्ता भएका चार जनामध्ये खोजीका क्रममा सोही ठाउँकी ५४ वर्षीया उमा सिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको छ। यससँगै पहिरोमा मृत्यु हुनेको संख्या तीन पुगेको हो।

हाल भेरी नगरपालिका–२, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही नगरपालिकाको गैरीगाउँका १४ वर्षीय हरिस विक अझै बेपत्ता छन्।

बेपत्ताको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल गुल्म जाजरकोटबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको कमान्डमा विपद् व्यवस्थापन तालिमप्राप्त सुरक्षाकर्मीहरू खोजी अभियानमा खटिएका छन्।

अविरल वर्षासँगै आएको लेदोसहितको पहिरोले स्थानीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बेपत्ता दुई जनाको खोजीकार्य तीव्र पारिएको सुरक्षा निकायले जनाएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.