काठमाडौं । उदीयमान गायक आदित्य श्रेष्ठले आफ्नो पहिलो आधिकारिक मौलिक गीत ‘बाचा’ सार्वजनिक गरेका छन्। प्रेम, दूरी, विश्वास र भविष्यका सपनालाई भावनात्मक रूपमा प्रस्तुत गरिएको यस गीतले अध्ययनका लागि विदेश जान बाध्य हुने युवापुस्ताको यथार्थलाई प्रेमकथासँग जोडेर देखाएको छ।
गीतमा विदेश अध्ययनका लागि प्रस्थान गर्ने युवती र नेपालमै बसेर उनको सफलताको प्रतीक्षामा रहने प्रेमीबीचको सम्बन्धलाई मार्मिक ढंगले चित्रण गरिएको छ। भौगोलिक दूरीले सम्बन्ध कमजोर नबनाई विश्वास र प्रतिबद्धताले साँचो प्रेमलाई जीवनभर जोगाइराख्न सक्छ भन्ने सन्देश गीतले प्रवाह गरेको छ।
‘बाचा’का शब्द, संगीत तथा निर्देशन निर्मल श्रेष्ठको रहेको छ भने छायांकन तथा सम्पादन निरज भुसालले गरेका छन्। म्युजिक भिडियोमा एन्जल राई र आदित्य श्रेष्ठ स्वयंले अभिनय गरेका छन्। भिडियोको क्रियटिभ डाइरेक्टरका रूपमा सुब्रत आचार्यले सहकार्य गरेका छन्।
बाल्यकालदेखि नै संगीतप्रति गहिरो रुचि राख्दै आएका आदित्यले हालै जेभियर एकेडेमी, लाजिम्पाटद्वारा आयोजित ‘ब्याटल अफ द ब्यान्ड्स’ प्रतियोगितामा आफ्नो समूहसहित विजेता बनेर चर्चा बटुलेका थिए। यसअघि सन् २०१७ मा सम्पन्न ‘मिस्टर एन्ड मिस लिटल लुम्बिनी’ प्रतियोगितामा पनि उनी पुरुषतर्फ विजेता बन्न सफल भएका थिए।
‘बाचा’ आदित्य श्रेष्ठको सांगीतिक यात्राको पहिलो आधिकारिक प्रस्तुति भएकाले यसलाई विशेष महत्वका साथ हेरिएको छ। प्रेम, सपना, करिअर र अध्ययनका लागि विदेशिने नेपाली युवाको मनोविज्ञानलाई समेटिएको यस गीतले विशेषगरी युवा पुस्तामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।
गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ र अहिले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
Music Video Link :