काठमाडौं, साउन १६। नेपाल एकीकरण अभियानका महानायक, एङ्ग्लो–नेपाल युद्धका अद्वितीय सेनानी तथा ‘ज्यूँदो बाघ’ भनेर चिनिने राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस शुक्रबार देशभर विविध कार्यक्रमका साथ श्रद्धापूर्वक मनाइएको छ।
काठमाडौंदेखि गोरखा, डडेल्धुरा, पोखरा, झापा, सर्लाही, मोरङलगायत देशका विभिन्न ऐतिहासिक तथा सांस्कृतिक क्षेत्रहरूमा श्रद्धाञ्जली सभा, माल्यार्पण, दीपप्रज्वलन, प्रभातफेरी, अन्तरक्रिया तथा स्मृति सभाहरू आयोजना गरी नेपालको एकीकरण, राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताको रक्षामा अमरसिंह थापाले पुर्याएएको अतुलनीय योगदानको स्मरण गरिएको हो।
नेपालमा राष्ट्रिय विभूति घोषणा गर्ने प्रक्रिया वि.सं. २०१२ (सन् १९५५) मा राजा महेन्द्रद्वारा गठित प्रसिद्ध साहित्यकार बालकृष्ण समको अध्यक्षतामा रहेको आयोगबाट सुरु भएको थियो। त्यसयता हालसम्म नेपालका १८ जना विशिष्ट व्यक्तित्वलाई राष्ट्रिय विभूति घोषणा गरिएको छ। तिनै महान् व्यक्तित्वमध्ये बडाकाजी अमरसिंह थापा नेपाली इतिहासका एक अग्रणी राष्ट्रनायकका रूपमा स्थापित छन्।
नेपालको पश्चिमी सीमाना विस्तारका महानायक
नेपाल एकीकरण अभियानका क्रममा अमरसिंह थापाले पश्चिम नेपाल हुँदै कुमाऊँ, गढवाल, देहरादुन र काँगडासम्म नेपालको प्रभाव विस्तार गर्न निर्णायक नेतृत्व गरेका थिए। सीमित स्रोत–साधनका बाबजुद उनले अदम्य साहस, उच्च सैन्य रणनीति र असाधारण नेतृत्व क्षमता प्रदर्शन गर्दै नेपालको पश्चिमी मोर्चालाई सुदृढ बनाएका थिए।
वि.सं. १८७१–१८७३ (सन् १८१४–१८१६) को एङ्ग्लो–नेपाल युद्धमा उनी पश्चिमी मोर्चाका सर्वोच्च कमाण्डर थिए। अत्याधुनिक हतियारले सुसज्जित बेलायती इस्ट इन्डिया कम्पनीको सेनासँग उनले निर्भीक रूपमा युद्ध लडे।
इतिहासमा उल्लेख भएअनुसार बेलायती सेनापति जनरल डेविड अक्टरलोनीले जागिर, पद र विभिन्न प्रलोभन दिएर उनलाई आफ्नो पक्षमा पार्न खोज्दा अमरसिंह थापाले दृढतापूर्वक अस्वीकार गर्दै राष्ट्रहितलाई सर्वोपरि ठानेका थिए। यही अदम्य राष्ट्रभक्तिका कारण उनलाई नेपाली इतिहासमा ‘ज्यूँदो बाघ’ को उपाधिले सम्मान गरिन्छ।
उनले पाल्पालाई नेपालमा गाभ्ने, महाकाली नदीपश्चिमका क्षेत्रको सुरक्षा गर्ने, गढवाल र कुमाऊँ विजय गर्ने, डडेल्धुराको ऐतिहासिक अमरगढी किल्ला निर्माण गर्ने तथा गङ्गोत्री क्षेत्रमा मन्दिर स्थापना गर्ने जस्ता ऐतिहासिक कार्यसमेत गरेका थिए।
काठमाडौंमा विशेष राष्ट्रिय कार्यक्रम
काठमाडौंमा नेपाल न्यूज बैंक र बगाले थापा क्षेत्री राष्ट्रिय प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा विशेष श्रद्धाञ्जली सभा सम्पन्न भएको थियो।
प्रतिष्ठानका अध्यक्ष डा. राम थापा क्षेत्रीको अध्यक्षता तथा नेपाली सेनाका श्री नम्बर १ बाहिनीपति सहायक रथी विनोद चन्दको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली सेनाको विशेष टुकडीले राष्ट्रिय विभूति अमरसिंह थापाप्रति सम्मानस्वरूप सलामी अर्पण गरेको थियो।
ठमेलस्थित कालिका, कामाख्या तथा ज्वालामाई मन्दिर परिसरमा आयोजित कार्यक्रममा इतिहासकार, नागरिक समाजका अगुवा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले अमरसिंह थापाको प्रतिमामा माल्यार्पण गर्दै उनको अद्वितीय योगदानको चर्चा गरेका थिए।
यसैगरी राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले सैनिक मुख्यालयस्थित अफिसर्स क्लबमा विशेष स्मृति समारोह आयोजना गरेको थियो। कार्यक्रममा नेपाली सेनाका उच्च अधिकारी, इतिहासविद्, संस्कृतिविद्, प्रतिष्ठानका प्रतिनिधि तथा देशभक्त नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा सिरानचोक गाउँपालिकाका निवर्तमान संस्थापक अध्यक्ष राजु गुरुङलाई विशेष सम्मान गरिएको थियो। उनले वि.सं. २०७७ असार ३१ गते गाउँसभाबाट प्रत्येक वर्ष साउन १६ गते सार्वजनिक बिदासहित अमरसिंह थापाको स्मृति दिवस मनाउने निर्णय गराउने ऐतिहासिक पहल गरेका थिए।
सिरानचोकमा सार्वजनिक बिदासहित भव्य कार्यक्रम
इतिहासकारहरूका अनुसार बडाकाजी अमरसिंह थापाको जन्म गोरखाको सिरानचोक गाउँपालिका–६ स्थित सिरानडाँडा (अमरपुर) मा भएको मानिन्छ।
उनकै जन्मभूमि सिरानचोक गाउँपालिकाले प्रत्येक वर्ष साउन १६ गते सार्वजनिक बिदा दिँदै स्मृति दिवस मनाउने परम्परा कायम राखेको छ।
यस वर्ष पनि अमरसिंह थापा पार्क तथा शालिक परिसरमा माल्यार्पण, श्रद्धाञ्जली सभा, अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरी उनको योगदानप्रति सम्मान व्यक्त गरिएको थियो।
अमरगढीदेखि पोखरासम्म श्रद्धाञ्जली
डडेल्धुराको अमरगढी किल्ला परिसरमा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, पर्यटन व्यवसायी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा वक्ताहरूले अमरगढी किल्लालाई राष्ट्रिय सम्पदा तथा ऐतिहासिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।
पोखरास्थित अमरसिंह चोक, अमरसिंह मोडेल माध्यमिक विद्यालय तथा अन्य सार्वजनिक स्थानहरूमा दीपप्रज्वलन, स्मृति सभा र श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।
झापा, सर्लाही र मोरङमा पनि विविध कार्यक्रम
झापाको अमरचोक, सर्लाहीको धरहरा तथा मोरङको मङ्गलबारेलगायत विभिन्न स्थानमा स्थानीय संघसंस्था, विद्यालय तथा नागरिक समाजले प्रभातफेरी, दीपप्रज्वलन, वक्तृत्वकला प्रतियोगिता, इतिहास चर्चा तथा श्रद्धाञ्जली कार्यक्रम सञ्चालन गरेका थिए।
कार्यक्रमहरूमा नयाँ पुस्तालाई नेपालको इतिहास, राष्ट्रिय एकता र वीरताको भावना हस्तान्तरण गर्नुपर्नेमा जोड दिइएको थियो।
राष्ट्रका लागि जीवन समर्पण गरेका महानायक
इतिहासका अनुसार सुगौली सन्धिपछि नेपालको ठूलो भूभाग गुमाउनुपरेको पीडा सहन नसकी अमरसिंह थापा गोसाइँकुण्डतर्फ प्रस्थान गरेका थिए। त्यहीँ वि.सं. १८७३ साउन १६ गते उनले देहत्याग गरेका थिए।
उनको जीवनले राष्ट्रप्रतिको समर्पण, इमानदारी, स्वाभिमान र अदम्य साहसको अनुपम उदाहरण प्रस्तुत गरेको इतिहासकारहरूको भनाइ छ।
राष्ट्रिय स्तरमा मनाउन माग
स्मृति दिवसका अवसरमा विभिन्न वक्ताहरूले बडाकाजी अमरसिंह थापाको स्मृति दिवसलाई आगामी वर्षदेखि नेपाल सरकार, नेपाली सेना तथा नागरिक समाजको संयुक्त नेतृत्वमा देशव्यापी रूपमा राष्ट्रिय कार्यक्रमका रूपमा मनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
उनीहरूले यस्ता कार्यक्रमले राष्ट्रिय इतिहास संरक्षण, युवा पुस्तामा देशभक्ति अभिवृद्धि तथा राष्ट्रनिर्माणमा वीर पुर्खाहरूको योगदानप्रति सम्मान बढाउने विश्वास व्यक्त गरेका छन्।
नेपाल एकीकरण अभियान, राष्ट्रिय स्वाभिमानको रक्षा तथा सार्वभौमिकताको संरक्षणमा अमरसिंह थापाले पुर्यापएको योगदान आज पनि उत्तिकै प्रेरणादायी रहेको भन्दै सहभागीहरूले राष्ट्रिय विभूतिको सम्मान र ऐतिहासिक सम्पदाको संरक्षणमा राज्यले थप प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
ज्यूँदो बाघ’ अमरसिंह थापाको २१०औँ स्मृति दिवस देशभर श्रद्धा, सम्मान र गौरवका साथ मनाइयो देशव्यापी रूपमा स्मृति सभा, माल्यार्पण, दीपप्रज्वलन र अन्तरक्रियामार्फत राष्ट्रिय विभूतिको योगदान स्मरण