काठमाडौं । मिस नेपाल २०२६ को प्रतिस्पर्धा केवल सौन्दर्यको मञ्चमा सीमित नरही सामाजिक परिवर्तनको बहसमा रूपान्तरित भइरहेका बेला प्रतियोगी नम्बर १४ प्रतिमा खड्का आफ्नो स्पष्ट दृष्टिकोण, अन्तर्राष्ट्रिय अनुभव र नेपाली मौलिक ज्ञानको समन्वयकारी सोचका कारण चर्चामा आएकी छन्। उनी सौन्दर्य प्रतियोगितालाई समाजमा सकारात्मक परिवर्तन ल्याउने राष्ट्रिय अभियानका रूपमा उपयोग गर्ने लक्ष्यसहित प्रतिस्पर्धामा उत्रिएकी हुन्।
अष्ट्रेलियाबाट Bachelor of Community Services र Master of Social Work अध्ययन पूरा गरेकी प्रतिमाले बहुसांस्कृतिक समुदायसँग काम गरेको लामो अनुभवलाई नेपालको सामाजिक रूपान्तरणमा उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनका अनुसार नेपाललाई परिवर्तन गर्न विदेशी अवधारणाको नक्कल मात्र पर्याप्त हुँदैन, बरु अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालको मौलिक ज्ञान, संस्कृति र जीवनदर्शनसँग जोड्न सकिए दिगो परिवर्तन सम्भव छ।
‘मानसिक स्वास्थ्य होइन, मानसिक कल्याण पनि प्राथमिकता’
सन् २०१६ देखि आर्ट अफ लिभिङ फाउन्डेसनमा सक्रिय स्वयंसेवक तथा दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (न्यू साउथ वेल्स) की राज्य सचिवसमेत रहेकी प्रतिमा मानसिक स्वास्थ्यलाई उपचारको विषयमा मात्र सीमित नराखी Mental Well-being Education अर्थात् मानसिक कल्याणसम्बन्धी शिक्षालाई विद्यालय तहदेखि नै अनिवार्य बनाउनुपर्ने धारणा राख्छिन्।
भावना व्यवस्थापन, तनाव नियन्त्रण, आत्मविश्वास वृद्धि तथा भावनात्मक रूपमा सशक्त बन्ने जीवनोपयोगी सीपहरू विद्यालय शिक्षामै समावेश गरिनुपर्ने उनको जोड छ। उनी मानसिक शान्ति र आत्मिक सन्तुलनलाई कमजोरी होइन, आधुनिक जीवनका लागि आवश्यक नेतृत्व क्षमता मान्छिन्।
विश्वले खोजेको उत्तर नेपालको संस्कृतिमा रहेको दाबी
प्रतिमाले विश्वभर बढिरहेका मानसिक तनाव, एक्लोपन र जीवनशैलीजन्य समस्याको समाधान नेपालको प्राचीन दर्शन, योग, ध्यान, सचेत श्वासप्रश्वास र माइन्डफुलनेसजस्ता अभ्यासमा रहेको विश्वास व्यक्त गरेकी छन्। यी अभ्यासलाई वैज्ञानिक र व्यवहारिक रूपमा आधुनिक पुस्तासम्म पुर्याउनु आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ छ।
उनका अनुसार नेपालको सबैभन्दा ठूलो शक्ति हिमाल मात्र होइन, यहाँको पारिवारिक सम्बन्ध, सहकार्यको संस्कृति, करुणा र मानवीय संवेदना पनि हो। “जब व्यक्ति भित्रबाट सन्तुलित र सक्षम हुन्छ, परिवार बलियो बन्छ; बलियो परिवारले समृद्ध समुदाय र सक्षम राष्ट्र निर्माण गर्छ,” उनले आफ्नो अभियानको मूल सन्देश सुनाइन्।
जलवायु परिवर्तनप्रति पनि उत्तिकै चिन्ता
मानसिक कल्याणसँगै प्रतिमा वातावरण संरक्षण र जलवायु परिवर्तनलाई पनि आफ्नो प्राथमिक एजेन्डाका रूपमा अघि सार्दै आएकी छन्। कृषि र प्राकृतिक स्रोतमा निर्भर नेपालका लागि जलवायु परिवर्तन केवल वातावरणीय विषय नभई जनजीविका, खाद्य सुरक्षा र भावी पुस्ताको भविष्यसँग प्रत्यक्ष जोडिएको मुद्दा भएको उनको धारणा छ।
उनले प्रकृतिको संरक्षण र मानव कल्याणलाई सँगसँगै अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै हरित जीवनशैली र दिगो विकासको पक्षमा जनचेतना अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
‘ब्युटी विथ पर्पस’को सशक्त उदाहरण
मिस नेपाल २०२६ को यात्रामार्फत प्रतिमा खड्काले भावनात्मक रूपमा सक्षम, सामाजिक रूपमा जिम्मेवार, वातावरणप्रति सचेत र आफ्नै मौलिक मूल्य–मान्यतामा गर्व गर्ने नयाँ पुस्ता निर्माण गर्ने लक्ष्य लिएकी छन्। नेपाललाई केवल सगरमाथाको देशका रूपमा होइन, विश्वलाई करुणा, सचेत जीवनशैली, योग, ध्यान र प्राचीन ज्ञानको मार्गदर्शन गर्ने राष्ट्रका रूपमा स्थापित गर्ने उनको दीर्घकालीन सपना रहेको छ।
सौन्दर्य, बौद्धिकता, सामाजिक उत्तरदायित्व र मौलिक नेपाली चिन्तनको समिश्रणका साथ प्रतिमा खड्का मिस नेपाल २०२६ की बलिया दाबेदारका रूपमा उभिएकी छन्।