Gorkha Sansar

सेनाको अनुभवबाट संगीतमा नयाँ उडान, ‘म पल्टनमा सानु’मार्फत चर्चामा गायक दिपेन्द्र खत्री

काठमाडौं । लामो समय नेपाली सेनामा सेवा गरेका गायक दिपेन्द्र खत्री ले सैनिक परिवारको माया, प्रतीक्षा र भावनालाई समेटिएको नयाँ गीत ‘म पल्टनमा सानु’ सार्वजनिक गरेका छन्। व्यावसायिक रूपमा संगीत क्षेत्रमा स्थापित हुने लक्ष्यसहित ल्याइएको यो गीत अहिले दर्शक तथा स्रोतामाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

यसअघि पनि केही गीत सार्वजनिक गरे पनि अपेक्षित सफलता हासिल गर्न नसकेका खत्रीले निरन्तर प्रयासलाई नै आफ्नो बल बनाउँदै यसपटक फरक विषयवस्तुमा आधारित गीतमार्फत पुनः सांगीतिक यात्रामा नयाँ अध्याय सुरु गरेका हुन्।

नेपाली सेना र प्रहरी परिवारले भोग्ने भावनात्मक यथार्थलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा मन छुने शब्द, मौलिक प्रस्तुति र नेपाली परिवेशको जीवन्त चित्रण गरिएको छ। गीतका शब्द तथा सिर्जना स्वयं दिपेन्द्र खत्री कै रहेको छ।

गीतमा प्रत्यक्ष दोहोरी गायनमार्फत परिचित गायिका आशा बिसी ले दिपेन्द्रसँग युगल स्वर दिएकी छन्। प्रश्न–उत्तर शैलीमा अगाडि बढ्ने गीतले अन्तिमसम्म दर्शक–स्रोताको उत्सुकता कायम राख्ने प्रयास गरेको छ।

तनहुँको खैरेनीटार निवासी खत्री नेपाली सेनाबाट अवकाश प्राप्त गरेपछि पूर्ण रूपमा संगीत क्षेत्रमा सक्रिय हुने तयारीमा छन्। ‘म पल्टनमा सानु’ ले आफ्नो सांगीतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास उनले व्यक्त गरेका छन्।

गीतको म्युजिक भिडियो तनहुँ र कास्कीका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको छ। भिडियो रियल पिक्चर इन्टरटेनमेन्ट र देउराली इन्टरटेनमेन्ट को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सैनिक जीवनको अनुभवलाई संगीतमार्फत अभिव्यक्त गर्ने प्रयासस्वरूप सार्वजनिक गरिएको ‘म पल्टनमा सानु’ ले नेपाली लोक–आधुनिक संगीतमा नयाँ स्वाद थप्ने अपेक्षा गरिएको छ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.