Gorkha Sansar

नेपाली र नेपालभाषा दुवै संगीतमा सक्रिय गायक बिरजको नयाँ प्रेमगीत ‘साइली’ सार्वजनिक, अभिनयमा कृषल र श्रीतिका


काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्दै आए पनि नेपाली संगीतप्रतिको आफ्नो लगावलाई निरन्तरता दिँदै आएका युवा गायक बिरज महर्जन ले नयाँ प्रेमगीत ‘साइली’ सार्वजनिक गरेका छन्। यससँगै उनले नेपालभाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो पनि एकैसाथ दर्शकमाझ ल्याएका छन्।

प्रेम, भावना र आत्मीय सम्बन्धको कथालाई संगीत र दृश्यमार्फत आकर्षक ढंगले प्रस्तुत गरिएको ‘साइली’ ले सार्वजनिक भएको छोटो समयमै संगीतप्रेमीको ध्यान खिच्न थालेको छ।

बिरजले आठ वर्षको उमेरदेखि नै सांगीतिक यात्रा सुरु गरेका हुन्। १३ वर्षको उमेरमै एकल सांगीतिक साँझ प्रस्तुत गरेका उनले २०७० सालमा ‘नयाँ किरण’ अडियो एल्बममार्फत व्यावसायिक यात्रा अघि बढाएका थिए। उनले सुरशाला म्युजिक एकेडेमी बाट औपचारिक संगीत शिक्षा हासिल गरेका हुन्।

हाल अष्ट्रेलियामा रहे पनि नेपाल आउँदा उनी गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माण तथा विभिन्न लाइभ सांगीतिक कार्यक्रममा सक्रिय रहने गरेका छन्।

यसअघि उनले नेपालभाषाका ‘तुयु तुयु धागु’, ‘नक्कालिम्हा मयेजु’, ‘छ लुइवोन हे जीवन’ लगायत चर्चित गीत सार्वजनिक गरिसकेका छन्। नेपाली गीत ‘आमा’ र ‘तिमी आउने बाटोभरी’ ले पनि दर्शक–श्रोतामाझ राम्रो लोकप्रियता कमाएका छन्।

उनको सांगीतिक योगदान विभिन्न राष्ट्रिय अवार्डबाट समेत सम्मानित भइसकेको छ। ‘तुयु तुयु धागु’ बाट उनले २०७४ सालमा पेज थ्री अवार्ड अन्तर्गत बेस्ट न्यू आर्टिस्ट तथा नेसनल बक्स अफिस अवार्ड मा बेस्ट डेब्यु सिङ्गर (जुरी च्वाइस) प्राप्त गरेका थिए। ‘आमा’ गीतका लागि २०७५ सालमा नेसनल पावर न्युज म्युजिक अवार्ड अन्तर्गत बेस्ट सङ अफ द इयर–इन्करेजमेन्ट अवार्ड प्राप्त गरेका उनले २०७९ सालमा ‘छ लुइवोन हे जीवन’ बाट बेस्ट मेल सिङ्गर–राइजिङ स्टार (जुरी) अवार्ड पनि जितेका थिए।

यसपटक सार्वजनिक ‘साइली’ मा बिरज महर्जनको स्वर रहेको छ भने शब्द, संगीत र संगीत संयोजन जुगल डंगोल ले गरेका छन्।

म्युजिक भिडियोमा कृषल श्रेष्ठ र श्रीतिका श्रेष्ठ को अभिनय रहेको छ। भिडियोको छायांकन रकी महर्जन ले गरेका हुन् भने सम्पादन रकी महर्जन र रामकृष्ण खड्गी ले संयुक्त रूपमा गरेका छन्। निर्देशन पनि रामकृष्ण खड्गीकै रहेको छ।

निर्माण टिमका अनुसार प्रेम र भावनाको मिठासलाई आधुनिक शैलीमा प्रस्तुत गरिएको ‘साइली’ ले युवा पुस्तासँगै सबै उमेर समूहका दर्शक–श्रोताको मन छुने विश्वास गरिएको छ।

भिडियो हेर्नुहोस्: https://youtu.be/RNBbE2I2CV8?si=iuODYmgsgf-w7D3m

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.