काठमाडौँ, जेठ — लायन्स इन्टरनेशनल मल्टिपल डिस्ट्रिक्ट 325 नेपालले आफ्नो वार्षिक महासम्मेलन सम्पन्न गर्दै नेतृत्व, सामाजिक सेवा र संस्थागत सुधारलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
काठमाडौँस्थित नेपाल पुलिस क्लबमा सम्पन्न कार्यक्रममा संस्थाका प्रमुख पदाधिकारी, पूर्व नेतृत्व, डिस्ट्रिक्ट गभर्नरहरू, क्लबका अध्यक्ष तथा सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा मल्टिपल काउन्सिल चेयरपर्सन लायन मिलन थापाले संस्थाको मुख्य उद्देश्यलाई निरन्तरता दिँदै सामाजिक सेवामा अझ प्रभावकारी ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले संस्थामा राजनीतिक प्रभाव नरहने स्पष्ट गर्दै आगामी दिनमा शुद्ध सामाजिक चरित्र कायम राख्न जोड दिनुभयो।
उहाँले नेतृत्व हस्तान्तरण प्रक्रियालाई अझ पारदर्शी, व्यवस्थित र संस्थागत बनाउनुपर्नेमा जोड दिँदै मल्टिपल काउन्सिलको भूमिकालाई प्रभावकारी बनाइने बताउनुभयो।
कार्यक्रममा उपस्थित वक्ताहरूले लायन्स क्लबमार्फत गरिएको सेवा कार्य, स्वास्थ्य, शिक्षा तथा मानवीय सहायता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे।
पूर्व डिस्ट्रिक्ट गभर्नर लायन बालकृष्ण बुढाथोकीले संस्थाको विगत ५४ वर्षको यात्रालाई स्मरण गर्दै महिलाको नेतृत्व र युवाको सक्रिय सहभागिताले संगठनलाई अझ मजबुत बनाएको बताउनुभयो।
त्यस्तै, डिस्ट्रिक्ट 325 H का लायन सचिव संजय खेतानले आगामी जुलाईदेखि सुरु हुने नयाँ कार्ययोजनाबारे जानकारी दिँदै क्लबहरूको क्षमता अभिवृद्धि र सेवा कार्यक्रम विस्तारमा जोड दिइने बताउनुभयो।
कार्यक्रमका अध्यक्ष तथा मल्टिपल काउन्सिल चेयरपर्सनले हालै सम्पन्न २३ र २४ गतेका सम्मेलनले सदस्यहरूमा नयाँ ऊर्जा र उत्साह थपेको उल्लेख गर्दै सेवा कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने बताउनुभयो।
कार्यक्रममा देशभरका १५ भन्दा बढी डिस्ट्रिक्टका ६०० भन्दा बढी लायन्स सदस्यहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संस्थागत एकता, नेतृत्व विकास र सामाजिक सेवामा निरन्तरता आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रम व्यवस्थापन डिस्ट्रिक्ट 325 A1 ले गरेको थियो। आयोजकले सबै सहभागीप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ व्यापक कार्यक्रम गर्ने प्रतिबद्धता जनाएको छ।