काभ्रे—
नेपाल चलचित्र कलाकार संघको हालै निर्वाचित नयाँ कार्यसमितिलाई सम्मान गर्ने क्रम देशभर तीव्र बनेको छ। यसैबीच नेपाल फिल्म सोसाइटीले काभ्रेपलाञ्चोकको पनौतीस्थित थुम्की रिसोर्टमा आयोजना गरेको विशेष सम्मान तथा शुभकामना कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई औपचारिक रूपमा सम्मान गरिएको छ।
नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलाकार तथा चलचित्र क्षेत्रका अग्रज, समकालीन र नवोदित कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा नवनिर्वाचित अध्यक्ष उत्तम केसी, उपाध्यक्ष शिवहरि नेपाल वैरागी र पूजना गुरुङ प्रधान, महासचिव सुनिल कटुवाल, सचिव गोपाल ढकाल, कोषाध्यक्ष तेजुला खतिवडा, सहकोषाध्यक्ष पवन केसी तथा अन्य सदस्यहरूलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरूमा इन्द्र दोडा खम्बे, चन्द्रकला राई, लभली संगम, श्रीदेव भट्टराई, मोनिका दाहाल, चन्द्रकुमारी, दमन रुपाखेती, नवीन श्रेष्ठ, सुलेमान संकर ईकु, छुल्टिम गुरुङ, रस्मी भट्टलगायतका कलाकारहरू रहेका थिए।
कार्यक्रममा वक्ताहरूले नयाँ नेतृत्वप्रति भरोसा व्यक्त गर्दै नेपाली चलचित्र क्षेत्रलाई अझ संगठित, व्यावसायिक र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन संघले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रमुख अतिथिका रूपमा बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री मधुकुमार श्रेष्ठले कलाकारहरूलाई “देशको सांस्कृतिक पहिचानका जीवित प्रतिनिधि” भन्दै राज्यले अझ प्रभावकारी नीति र सहयोग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
विशेष अतिथिका रूपमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, नेपाल चलचित्र कलाकार संघका संरक्षक बसुन्धरा भुसाल, निवर्तमान अध्यक्ष मोहन निरौला र संस्थापक अध्यक्ष रवीन्द्र खड्काको उपस्थिति रहेको थियो।
नगरपालिकाको तर्फबाट पनि नवनिर्वाचित पदाधिकारीलाई सम्मान गर्दै स्थानीय सरकार र चलचित्र क्षेत्रबीच सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
कार्यक्रमको सञ्चालन घनश्याम खतिवडाले गर्नुभएको थियो। कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक तथा सांस्कृतिक क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
यसैबीच, तारकेश्वर र चन्द्रागिरि नगरपालिकाले पनि छुट्टाछुट्टै कार्यक्रम आयोजना गरी नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान व्यक्त गरेका छन्।
नयाँ नेतृत्वले कलाकारहरूको पेशागत सुरक्षा, हकहित संरक्षण र चलचित्र उद्योगको संस्थागत विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ। अध्यक्ष उत्तम केसीले सबै पक्षबीच सहकार्य बढाएर चलचित्र क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने लक्ष्य रहेको बताउनुभयो।
हाल देशभर विभिन्न निकायबाट भइरहेको निरन्तर सम्मान र शुभकामनाले नेपाली चलचित्र क्षेत्रप्रति बढ्दो सामाजिक विश्वास, अपेक्षा र सकारात्मक वातावरणलाई झल्काएको सरोकारवालाहरूले बताएका छन्।