२१औँ शताब्दी विज्ञान, प्रविधि, सूचना र चेतनाको युग हो। मानव सभ्यता अभूतपूर्व रूपमा अगाडि बढिरहेको छ। तर विडम्बना, यही समयमा धर्म र आध्यात्मिकताको वास्तविक मर्म झन् ओझेलमा पर्दै गएको अनुभूति हुन थालेको छ।
धर्मको मूल उद्देश्य मानवलाई मानवताको उच्चतम चेतनातर्फ उन्मुख गराउनु, करुणा, सत्य, सहिष्णुता र सहअस्तित्वको मार्गमा डोर्याउनु तथा समाजलाई विभाजन र द्वेषबाट जोगाउनु हो। तर आज धर्म क्रमशः कर्मकाण्ड, बाह्य प्रदर्शन, प्रचारमुखी गतिविधि र आर्थिक स्वार्थको घेराभित्र सीमित हुँदै गएको देखिन्छ।
जहाँ धर्मले प्रेम र सद्भावको सुगन्ध फैलाउनुपर्ने थियो, त्यहाँ अहिले प्रतिस्पर्धा, प्रचार, प्रभुत्व र आत्मप्रदर्शनको होड चलेको छ। कतिपय धार्मिक संस्था र स्वयंघोषित गुरुहरूले आध्यात्मिकतालाई सेवा र साधनाको माध्यमभन्दा बढी शक्ति, सम्पत्ति र प्रभाव विस्तारको साधन बनाएका छन्।
आज धर्म केवल आस्था र साधनाको विषय मात्र रहेन। यो ‘ब्रान्डिङ’, ‘मार्केटिङ’ र ‘फलोअर इकोनमी’ को स्वरूपमा विकसित हुँदै गएको छ। सामाजिक सञ्जालदेखि विशाल प्रवचन मञ्चसम्म अनुयायीको संख्या, प्रचार सामग्री र व्यक्तिपूजाको प्रतिस्पर्धा सामान्य दृश्य बनेको छ। धर्मको नाममा भावनाको व्यापार भइरहेको छ।
यस्तो अवस्थामा केही गम्भीर प्रश्न उठ्नु स्वाभाविक छ—
धर्म आत्मशुद्धिको साधना हो कि आत्मप्रदर्शनको माध्यम?
गुरुको आसन त्याग, सेवा र विनम्रताको प्रतीक हो कि शक्ति, राजनीति र सम्पत्तिको केन्द्र?
जब करुणा हराउन थाल्छ र आत्मप्रचार बढ्न थाल्छ, त्यहाँ धर्मको आत्मा क्रमशः मर्न थाल्छ। बाह्य आडम्बर र भव्यताको जगमा उभिएको धार्मिक संरचनाले केही समय आकर्षण त सिर्जना गर्न सक्छ, तर त्यसले अन्ततः समाजलाई नैतिक अन्धकारतर्फ धकेल्ने खतरा बोकेको हुन्छ।
धर्मको सार ‘वसुधैव कुटुम्बकम्’ अर्थात् सम्पूर्ण संसार एक परिवार हो भन्ने भावनामा निहित छ। तर यदि कुनै व्यक्ति, संस्था वा सम्प्रदायले अरूलाई तुच्छ, अशुद्ध वा शत्रु ठान्ने संस्कार विकास गर्छ भने त्यो आध्यात्मिकता होइन, वैचारिक अहंकार र कट्टरताको अभिव्यक्ति हो।
साँचो गुरु त्यो हो, जसले शिष्यलाई आफूप्रति होइन, सत्यप्रति समर्पित हुन सिकाउँछ। जसले प्रश्न गर्न प्रेरित गर्छ, विवेक जगाउँछ र स्वतन्त्र चिन्तनको विकास गराउँछ। तर आज कतिपय ठाउँमा गुरु परम्परा प्रश्नहीन अनुयायित्व, आत्मप्रशंसा र व्यक्तिपूजामा रूपान्तरण भएको देखिन्छ।
अन्धभक्तिको सबैभन्दा ठूलो खतरा यही हो कि यसले मानिसको विवेकशक्ति कमजोर बनाउँछ। सही र गलत छुट्याउने क्षमता हराउँदै जान्छ। जब समाज प्रश्न गर्न छाड्छ, त्यहीँबाट पाखण्ड संस्थागत रूपमा स्थापित हुन थाल्छ।
धर्म कुनै विशेष पोशाक होइन। धर्म कुनै आकर्षक भाषण होइन। धर्म कुनै विशाल संस्थागत संरचना पनि होइन। धर्म त मानिसको दैनिक व्यवहार, नैतिकता, करुणा र उत्तरदायित्वमा प्रकट हुने जीवनपद्धति हो।
यदि व्यक्तिको व्यवहारमा मानवता छैन, विचारमा विनम्रता छैन र समाजप्रति उत्तरदायित्व छैन भने उसको बाहिरी धार्मिकता केवल अभिनय मात्र हो। धर्मको वास्तविक परीक्षा मन्दिर, आश्रम वा प्रवचन मञ्चमा होइन, दैनिक जीवनका व्यवहार, दुःखमा परेकालाई गरिएको सहयोग र समाजप्रतिको उत्तरदायित्वमा हुन्छ।
अबको समाजले धर्मलाई व्यापारिकरण, संकीर्णता र अन्धअनुकरणबाट मुक्त गरी पुनः यसको वास्तविक मानवीय मर्ममा फर्काउने साहस गर्नुपर्छ। चमत्कारको भ्रम, भावनात्मक दोहन र अनुयायीको संख्यालाई सफलताको मापदण्ड मान्ने प्रवृत्तिमाथि प्रश्न उठाउन आवश्यक छ।
अन्ततः धर्मको सार अत्यन्त सरल छ—जसले मानवलाई जोड्छ, त्यो धर्म हो। जसले विभाजन र घृणा फैलाउँछ, त्यो अधर्म हो। जसले करुणा, सेवा र सहअस्तित्वको भावना जगाउँछ, त्यो अध्यात्म हो। जसले अहंकार, साम्प्रदायिकता र श्रेष्ठताको उन्माद बढाउँछ, त्यो केवल धार्मिक आवरणभित्रको व्यापार हो।
आवरणमा जतिसुकै दिव्यता र ‘परमपूज्यता’ को दाबी गरिए पनि यदि आचरणमा मानवता, इमानदारी र नैतिकता छैन भने त्यो आध्यात्मिकता होइन—त्यो केवल धर्मको नाममा गरिएको पाखण्ड हो।
इतिहासले देखाएको छ, भ्रम र पाखण्ड लामो समय टिक्दैनन्। अन्ततः सत्य नै स्थापित हुन्छ। त्यसैले आजको सबैभन्दा ठूलो प्रश्न अरूलाई होइन, आफैलाई सोध्नुपर्ने बेला आएको छ—हामी वास्तवमा सत्य र मानवताको पूजा गर्दैछौँ कि केवल आवरण र प्रदर्शनको?