अछाम ।
अछामको बागेश्वरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास समितिले निर्माण गरेको “भगवती शाही स्मृति स्तम्भ” उद्घाटन गरिएको छ । नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बाँस्कोटाले एक समारोहबीच स्तम्भको उद्घाटन गरेका हुन् ।
नागपर्वत गाउँपालिका–४ मा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बागेश्वरी मन्दिर स्थापना गर्न महत्वपूर्ण योगदान पुर्याएकी स्वर्गीय भगवती शाहीको सम्मान र स्मृतिमा उक्त स्तम्भ निर्माण गरिएको समितिले जनाएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि बाँस्कोटाले बागेश्वरी क्षेत्र धार्मिक आस्थासँगै पर्यटकीय सम्भावना बोकेको महत्वपूर्ण गन्तव्य भएको उल्लेख गरे । उनले यस क्षेत्रको प्रचार–प्रसार र संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए ।
समितिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, स्थानीय बासिन्दा तथा समितिका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा समितिका सल्लाहकार नमस्कार शाहीले सञ्चालन गरेका थिए भने कार्यसमिति सदस्य जनकबहादुर शाहीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
पूर्व सचिव बाँस्कोटाको सहयोगमा विक्रम संवत् २०७६ साल माघ १४ गते निर्माण सम्पन्न भएको उक्त स्मृति स्तम्भलाई स्थानीयले धार्मिक इतिहास र सामाजिक योगदानको सम्मानस्वरूप महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
कार्यक्रममा पूर्व अध्यक्ष मन भण्डारीसहित स्थानीय अगुवा, समाजसेवी तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो । सहभागीहरूले स्मृति स्तम्भले बागेश्वरी क्षेत्रको पहिचान थप उजागर गर्दै धार्मिक पर्यटन प्रवर्द्धनमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।